वीरेन्द्रनगरको तल्लो पर्सेनीमा बाढीको पूर्वसूचना दिन साइरन जडान

असार १३, २०८२

तृप्ति शाही

Installation of flood warning sirens in Lower Parseni, Birendranagar

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ को तल्लो पर्सेनीमा बाढीको पूर्वसूचना दिनका लागि साइरन जडान गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको–९ र २ नम्बर वडाको तल्लो तटीय क्षेत्रलाई लक्षित गरेर नगरपालिकाले रिमोटबाट चल्ने साइरन जडान गरेको हो । 

त्यसक्षेत्रका ६३ घरधुरीलाई लक्षित गरी साइरन जडान गरिएको नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा अन्तर्गतको आतपकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले जानकारी दिए । यी वडामा वीरेन्द्रनगरको सम्पूर्ण पानी बाहिरिने निकास खोला अवस्थित छ । डुबानको उच्च जोखिममा भएका पालिका ९ र २ हुन् ।

निकास खोलामा पानीले खतराको विन्दु पार गर्नेबित्तिकै बाढीको सूचना दिने साइरनले नगरपालिकाको कार्यालयमा समेत 'अलर्ट'को आवाज सुनिने गर्छ । यसले कार्यालयबाट उद्धार सामग्रीसहित परिचालन हुने मद्दत पुग्ने गिरीले बताए । उनका अनुसार जडान गरिएको साइरनले ५ किलोमिटर दुरीसम्मका नागरिकलाई आवाज दिनेछ । यो क्षेत्र वर्षाको समयमा बढी डुबान हुने क्षेत्र हो । बढी जोखिम भएको क्षेत्रमा साइरन जडान गरिएको उनले बताए ।

साइरन जडानबाट गाउँलेहरूले सुरक्षित महसुस गरेको समावेशी टोल विकास संस्थाकी अध्यक्ष गीता खानले बताइन् । उनका अनुसार चारैतिर नालाले घेरेको बस्ती भएकाले सामान्य वर्षा हुँदासमेत डुबानको खतरा हुन्छ । साइरन जडानका साथै र सेफ्टी जाकेटहरू वितरण गरिएकाले सुरक्षित महसुस गरिएको उनले बताइन् । २०७१ सालको बाढीबाट यो टोलका ३ जनाले ज्यान गुमाएका थिए ।

नगरपालिकाको सूचना प्रवाह तथा विपद् व्यवस्थापन संयन्त्र अनुसार सञ्चार प्रभावकारी रूपमा कार्यान्वयन गर्न भीएचएफ सेट, मोबाइल सेट र आपत्कालीन नम्बर १०१ समेत प्रयोगमा ल्याइएको छ । 

आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गिरीका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । आँपडालीमा बायो इन्जिनियरिङ विधिबाट गरिएको तटबन्ध प्रभावकारी बनेको नगरपालिकाको दाबी छ । इत्राम खोलामा पनि तटबन्ध बनेपछि २ सय बढी घरधुरी लाभान्वित भएको बताइएको छ । २०७१ सालमा उक्त खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully