ट्र्याक खुलेको ५४ वर्षमा सिधै सडक संजालमा जोडियो घुईयाबारी-खलंगा 

असार १२, २०८२

विप्लव महर्जन

Ghuiyabari-Khalanga was directly connected to the road network in 54 years after the track was opened

सल्यान — ट्र्याक खुलेको ५४ वर्षमा खलंगा– मार्के– कालीमाटी–घुईयाबारी–चप्परगौरी–नेपालगन्ज सडकअन्तर्गत कालीमाटी गाउँपालिका-७ घुईयाबारी सिधै खलंगासँग सडक संजालमा जोडिएको छ । 

मध्यवर्ती क्षेत्रमा कालीमाटी गाउँपालिकाले ट्र्याक खोलेपछि योजना संचालन गरेको ५४ वर्षपछि घुईयाबारी सडक संजालमा जोडिएको हो । सल्यान खलंगाबाट दाङ तुलसीपुर हुँदै नेपालगन्ज जाँदा २ सयभन्दा बढी किमि पर्ने र खलंगा–कालीमाटी–दम्दवाली–घुईयाबारी–चप्परगौरी भएर जाँदा ८४ किलोमिटर पर्ने भएकाले २०२८ सालमा नेवबहादुर मल्ल वनमन्त्री भएको बेला उक्त सडक खन्न सुरु गरिएको थियो ।

खलंगादेखि कालीमाटीको हात्तीदमार ५४ किमि सडक निर्माण भएपछि केही वर्षयतादेखि दम्दवालीसम्म नियमित गाडी चल्दै आएको थियो । मध्यवर्ती क्षेत्रमा काम हुन नसक्दा कालीमाटी-७ घुईयाबारी पालिका र जिल्ला सदरमुकामसँग सडक संजालमा जोडिन सकेको थिएन । सम्बन्धित निकायले पटकपटक बजेट विनियोजन गरे पनि वातावरण परीक्षणमा कठिनाई भएकाले मध्यवर्ती सीमा क्षेत्र पर्ने हात्तीदमारदेखि घुईयाबारीसम्मको १२ किमि क्षेत्रमा ट्र्याक खुल्न सकेको थिएन ।

जिल्लाकै दुर्गम मानिने कालीमाटी-७ घुईयाबारी पालिका र खलंगासँग सडक सन्जालमा जोडिएपछि स्थानीयलाई पालिका तथा जिल्लाको खलंगा आउजाउ गर्न सहज भएको छ । घुईयाबारीसम्म सडक खुलेपछि स्थानीय खुसी भएका छन् । 

पालिकाको २५ लाख र प्रदेश सरकारको १५ लाख गरी ४० लाख रुपैयाँमा मध्यवती क्षेत्रअन्तर्गत हात्तीदमारदेखि घुईयाबारीसम्मको १२ किमि सडक ट्र्याक खोलिएको कालीमाटी गाउँपालिका-७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । ट्र्याक खुलेपछि अब घुईयाबारीदेखि स्थानीयलाई पालिका र सदरमुकाम खलंगा आउजाउ गर्न सहज हुने उनले बताए । ‘प्रदेश र पालिकाको बजेटमा १२ किमि सडकको चौडाई ६ मिटर छ । अहिले बर्षातको समय भएकाले नयाँ कटिङमा गाडी चल्दैन  । बर्षात् सकिएलगत्तै गाडी चलाउन पहल गरिने छ । गाडी चल्यो भने घुईयाबारीका स्थानीयलाई गाडी चढ्नका लागि हात्तीदमारसम्म आउनु पर्दा दिनभरि हिँड्नु पर्ने या सुर्खेत भएर जानु पर्ने बाध्यता अब सधैंको लागि अन्त्य हुने छ,’ उनले भने । 

हात्तीदमारदेखि घुईयाबारीसम्म ट्र्याक खुलेपछि वडा नं ४,५ र ७ का स्थानीयलाई राहत भएको दम्दावालीका स्थानीय तथा शिक्षक सुरेश गाहामगरले बताए । 

बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा सडक खुल्यो भने नेपालगन्ज जान झनै सहज हुने उनको भनाइ छ । ‘३० किमि दूरी पार गरेर नेपालगन्ज जान सकिनेमा निकुन्ज क्षेत्रभित्र काम हुन नसक्दा २ सय किमि पार गर्दै नेपालगन्ज जानु पर्ने बाध्यता छ,' उनले भने, 'सडक पूर्णरुपमा नजोडिँदा जंगली जनावरबाट ज्यान जोखिममा पारेर निकुन्ज क्षेत्रबाट ३/४ घन्टा हिँडेर चप्परगौरी पुगी नेपालगन्जका लागि गाडी चढ्नुपर्ने अवस्था छ । उक्त सडक खुलेमा धेरै सहज हुन्छ ।’

निरन्तरको प्रयासले मध्यवर्ती क्षेत्रभित्र सडकको ट्र्याक खोल्न सफल भएपछि खलंगादेखि घुईयाबारीलाई सिधै सडक संजालमा जोड्न सकिएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताए । निकुन्ज क्षेत्रमा सडक खोल्नका लागि पनि प्रयास भैरहेको उनको भनाइ छ ।

यसअघि प्रकाशित केही विवरण गलत हुन गएकोमा सच्याइएको छ । -सम्पादक 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully