जनयुद्धका घाइते अपांङ्गता भएकालाई सीपमुलक तालिम दिने गुठीचौरको नीति

असार ११, २०८२

डीबी बुढा

Guthichaur's policy of giving skill-based training to people's war injured persons with disabilities

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आकर्षक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले कृषि, पर्यटन र सामाजिक सुरक्षाका क्षेत्रमा आकर्षक नीति समावेश गरेको छ ।

आगामी आर्थिक वर्षमा जनयुद्धका क्रममा घाइते तथा अपाङ्ता भएका व्यक्तिको समस्यालाई दृष्टिगत गर्दै सीपमुलक तालिम प्रदान गर्ने नीति लिइएको छ । माओवादीले नेतृत्व गरेको पालिकालेसमेत नल्याएको यो कार्यक्रम कांग्रेस नेतृत्वको गुठीचौरले ल्याउँदा जिल्लाभर यसको चर्चा भएको छ । 

यसैगरी आगामी वर्षमा सञ्चालन हुने हरेक योजनाको दुई प्रतिशत बजेट वृक्षारोपणमा लगाउने भएको छ । अध्यक्ष दानबहादुर बुढाले हरेक आयोजनाको दुई प्रतिशत रकमले सोही आयोजनास्थलमा वृक्षारोपण गर्नुपर्ने नीति उल्लेख गरिएको बताए । 

उनले भने, ‘अहिले योजनाहरु बनाउँदा धेरै बोटविरुवा फँडानी गर्नुपर्ने बाध्यता छ । जसले जलवायुमा परिवर्तनमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ । अब हरेक योजना आसपासको क्षेत्र हराभरा बनाउनुपर्ने छ ।’

यस्तै पालिकाभित्रका ६ जना युवालाई प्याराग्लाइडिङ चालक बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हरेक वडाको एक/एक जना र गुठीचौर २ स्थित कोल्ते गाउँबाट एक जनालाई प्याराग्लाइडिङ चालकको तालिम प्रदान गरिनेछ । 

दुई वर्ष अघि ९ वटा प्याराग्लाइडिङको परीक्षण उडान गरेको गुठीचौरले गत वर्ष प्याराग्लाइडिङ महोत्सव आयोजना गरेको थियो । सो अवसरमा पोखराबाट आएका चालकहरुले २३४ उडान गरेका थिए । उनीहरुले गुठीचौर प्यारा उडानका लागि उपयुक्त स्थान भएको समेत बताएका छन् ।

आगामी वर्ष पनि प्याराग्लाइडिङको व्यवसायिक महोत्सव गर्ने नीति लिइएको छ । गुठीचौरले आगामी वर्षमा हरेक घर बनाउँदा नक्सापास अनिवार्य गर्नुपर्ने र नक्सापास गरेर बनाइएका घरहरुमा अनिवार्य चराचुरुङगीका गुडहरु बनाइनुपर्ने छ । गुठीचौरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुठीचौरलाई पिकनिक स्पटका रुपमा स्थापित गर्ने, विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरेर हरियाली बनाउने र फोहोर व्यवस्थापनको लागि व्यवस्थित डम्पिङ साइडको निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै किसानहरुको स्याउ खेतीप्रतिको आकर्षणलाई मध्येनजर गर्दै व्यवसायिक किसानहरुको पहिचान गरेर उच्च घनत्वको फुजी स्याउ वितरण गर्ने योजनासमेत नीति तथा कार्यक्रममा छ । हरेक किसानलाई ७५ देखि एक सयसम्म फुजी स्याउका विरुवा बाँडेर गुठीचौरलाई स्याउमय बनाउने नीति छ । 

जुम्ला र जाजरकोटको सीमानामा रहेको धार्मिक पर्यटकीयस्थल विष्ट ज्युसम्म सडक पुर्‍याउने, तिला नदीको दानसाँघुदेखि मुसे ओखरसम्मको सडकलाई तिला करिडोरका रुपमा विकसित गर्ने नीति रहेको पालिका अध्यक्ष बुढाले जानकारी दिए ।  उनका अनुसार उज्यालो गाउँपालिका कार्यक्रम अन्तर्गत जुम्लादेखि डोल्पा जोड्ने सडकमा सौर्यवत्ती जडान गर्नेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । 

गुठीचौरले ३४ करोड ७९ लाख २५ हजार ९७० रुपैयाँ १९ पैसाको बजेट समेत ल्याएको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully