वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ४ अर्ब ३८ करोड २७ लाख १५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । १७ औं नगरसभाको बैठकमा नगर उपप्रमुख नीलकण्ठ खनाले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेका हुन् ।
चालुतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार र पुँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।
पालिकाले सार्वजनिक गरेको बजेटमा संघीय वित्तीय समानीकरण अनुदानतर्फको २४ करोड २४ लाख छ भने संघीय ससर्त अनुदानतर्फको २ अर्ब २० करोड ८ लाख, संघीय राजस्व बाँडफाँटतर्फको २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फको ३ करोड ३४ लाख ५३ हजार, प्रदेश ससर्त अनुदानतर्फको ३७ करोड ६१ लाख ३६ हजार छ ।
घर, जग्गा, रजिस्टेसन तथा मनोरञ्जन करबाट १५ करोड, दहत्तर बहत्तर शुल्कको २ करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख ५० हजार, आर्थिक वर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदानको ४० करोड रहेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ मा कर प्रणालीमा सुधार गरी ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ संकलन गरिने लक्ष्य लिइएको नगर उपप्रमुख खनालले जानकारी दिए ।
पालिकाले उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि सङ्गीय र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाएको भेरी पम्पिङ आयोजनाका लागि ११ करोड ६० लाख रुपैयाँ म्याचिङ फन्ड छुट्याएको छ ।
सहरी पूर्वाधार र सौन्दर्यतर्फ राजधानी केन्द्रित पूर्वाधार जस्तै ः ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाइमास्ट लाइट जडानका लागि १२ करोड विनियोजन गरिएको छ । साथै, घण्टाघर पार्क लगायत अन्य पार्क निर्माण र क्रमागत आयोजनाका लागि २२ करोड ३४ लाख बजेट राखिएको छ ।
नगरको यातायातलाई सर्वसुलभ बनाउन नगर बस खरिद गरी सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै प्रत्येक वडामा कम्तीमा एउटा ५० लाखभन्दा ठूलो ‘नगर गौरवको पूर्वाधार आयोजना’ सञ्चालन गरिनेछ, जसका लागि १९ करोड २८ लाख रुपैयाँ वडास्तरमा पठाइन बजेटमा उल्लेख गरिएको छ ।
शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ अघि बढी वीरेन्द्रनगरलाई आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैंगिक रूपमा महिला मैत्री, सामाजिक रूपले समावेशी/सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरका रूपमा निर्माण गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानीका रूपमा विकास गर्ने लक्ष्य बजेटले लिएको छ ।
