राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट

असार ६, २०८२

ज्योति कटुवाल

Simkot was connected to the national road network

सुर्खेत — हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । खार्पुनाथ गाउँपालिका-५ स्थित खार्पु हुँदै बग्रे चुवाखोलामा बेलिब्रिज निर्माण भएसँगै सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

नेपाली सेनाले ४५ दिनभित्रमा बेलिब्रिज पुल निर्माण गरेको छ । पुल निर्माणपछि कर्णाली करिडोरले पूर्णता पाएको छ । खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएको थियो ।

पुल निर्माण कार्यदलका प्रमुख मेजर रन्जित बुढाथोकीले तोकिएकै समयमा काम सम्पन गर्न सफल भएको बताए । ‘खार्पुमा बनेको पुलले हुम्लाको सिमकोट मात्र नभएर कर्णाली करिडोर सिमकोट हुँदै चीनको सिमाना हिल्सासम्म गाडी चल्ने भएको छ, उनले भने, ‘पुल निर्माण भएपछि स्थानीबासीमा निकै उत्साह देखिएको छ ।’ 

Simkot was connected to the national road networkपुल नहुँदा निकै चीनबाट सामान ल्याउन बाध्य भएको स्थानीय व्यापारी विजय लामाले बताए । ‘खार्पुमा पुल नहुँदा गाडीलाई डोरीले बाँधेर नदी तार्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘भारत र चीन जोड्ने त्रिदेशीय सडक सञ्जालले पनि पूर्णता पायो ।’

 हुम्लाका स्थानीयबासीलाई, व्यापार, स्वास्थ्य शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब लामो दूरीको यात्रा र पैदलयात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीय गोविन्द शाहीले बताए । ‘लामो प्रतिक्षापछि खार्पूमा गाडी वारपार गरेको देख्न पाइने भयो,’ उनले भने, ‘बाटो नहुँदा पैदल यात्राका गर्न निकै सकस थियो । दशकदेखिको सपना पूरा हुने भयो ।’

२०८० पुसमा सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully