१६ घण्टापछि खुल्यो राप्ती राजमार्ग

असार ६, २०८२

विप्लव महर्जन

Rapti Highway was opened after 16 hours

सल्यान — लगातार वर्षासँगै कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग १६ घण्टापछि खुलेको छ । पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो।

वर्षासँगै चोरखोलामा आएको पहिरोले गएराति १० बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग खुलेपछि लामो समयदेखि सडकमा रोकिएका गाडीहरू अहिले आ–आफ्नो गन्तव्यतिर लागेका छन् ।

रातिको समयमा काम हुन नसकेको र बिहानदेखि जेसीभीले पहिरो हटाउने काम गरे पनि माथिबाट ढुंगा खस्ने कार्य नरोकिएकाले राप्ती राजमार्ग लामो समयसम्म अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । अवरुद्ध सडक खुलेपछि अहिले रोकिएका दर्जनौं गाडी र यात्रु आ–आफ्ना स्थानमा निस्किसकेका उनले जानकारी गराए ।

पानी पर्नेबित्तिकै चोरखोलामा पहिरो खस्ने र माथिबाट ढुंगा खसिरहने गरेकाले उक्त सडकमा आउजाउ गर्दा उच्च सतर्कता अपनाउन गाडी व्यवसायी तथा यात्रुलाई उनले आग्रह गरेका छन् । अहिले चोरखोलादेखि राम्रीसम्म धमाधम कालोपत्रेको काम भैरहे पनि दैनिकजसो खस्ने गरेको पहिरोले यात्रुले सास्ती खेप्दै आएको उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully