स्याउ बिमाको भुक्तानी माग्दै जुम्लाका किसान सडकमा 

असार ६, २०८२

कान्तिपुर संवाददाता

Farmers of Jumla on the streets demanding payment of apple insurance

जुम्ला — स्याउ बिमाको रकम भुक्तानीको माग गर्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा गर्न माग गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरे बापतको रकम भुक्तानी हुन नसकेकोमा आक्रोश पोखेका हुन् । उनले भने, ‘जुम्ला स्याउको जिल्ला हो । स्याउमा खडेरी र असिनाले क्षति पुर्‍याएरमा क्षतिपूर्ति पाउने गरी स्याउ बिमा गरिएको थियो । सो बापतको रकम अहिलेसम्म पाउन सकेनौं ।’ 

उनीहरुले सदरमुकाम खलंगाको बालमन्दिर नजिकैबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकाले । स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले किसानलाई बिमा बापतको रकम दिन आलटाल गरेकोमा दुःख व्यक्त गरे । उनले भने, ‘बिमा रकम तत्काल उपलब्ध गराउनुपर्ने धेरैपटक माग राख्यौं । तर बिमा कम्पनीले अटेर गरेकोले सडकमै उत्रिएर आन्दोलनका कार्यक्रम सुरु गर्‍यौं ।’ गत वर्ष खडेरीले स्याउ फलेन र फलेको स्याउ पनि असिनाले झारिदिएको थियो । बिमा रकम नदिएर किसानलाई राज्यले अपमान गरेको किसानहरुको ठहर छ । 

संयोजक सेजुवालले भने, ‘स्याउको बिमा गर्दा किसानहरु उत्साहित थिए तर अहिले नपाउँदा निरुत्साहित बन्नु परेको छ ।’ 

बिमा रकम उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरुले किसान सञ्जाल बनाएका छन् । सञ्जालले स्याउ बिमाको लागि मात्र पहल गर्ने नभई कृषिसँग सरोकार राख्ने कार्यालय र संघसंस्थाको समेत निगरानी गर्नेछ । 

आर्थिक वर्ष सकिँदैछ । अहिलेसम्म पर्खेर हेर्‍यौं,संयोजक सेजुवालले भने,‘प्रतिक्षाको घडी सकिनलाग्यो । अनि आन्दोलनका कार्यक्रमतिर लाग्यौं ।’ एक हप्ताभित्र बिमाको निचोड निस्किएन भने शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएका छन् । 

जुम्लाबाट प्रदेश र प्रतिनिधिसभा सांसदहरुसँग सहयोग मागेर बिमा कम्पनीविरुद्ध मुद्दासमेत दिने जुम्लाका किसानहरुले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully