वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ । सार्वजनिक महत्त्वका विषयमा नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमबीच सम्झौता भएको हो ।
स्थानीय ज्ञान सीप प्रवर्द्धनदेखि वैकल्पिक ऊर्जा सुधारलगायत विषयमा सम्झौता भएको छ । यी विषयहरुमा सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता भएको जनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयको १५औं वार्षिक उत्सवको अवसरमा सम्झौता भएको हो ।
नगरपालिका क्षेत्रभित्रको समग्र विकास निमार्णमा प्राज्ञिक सहयोग र विभिन्न कार्यक्रममा समन्वय एवं सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता भएको जनाइएको छ ।
समझदारी अनुसार नगरभित्रका विद्यालयहरुको शैक्षिक उन्नयन, नवप्रवर्तनमूलक सिकाई प्रवर्द्धन र सामाजिक अनुसन्धानमा विश्वविद्यालयले सहयोग गर्ने बताइएको छ । सम्झौता पत्रमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन, वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रम छन् ।
विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठीलगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय वस्तु तथा सेवा र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको नगरप्रमुख मोहमाया ढकालले जानकारी दिइन् । स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको उनले बताइन् ।
सम्झौता पत्रमा भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्यांक, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्तिलगायतका स्रोतहरूमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने तथा वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गर्ने, स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवर्द्धन र स्थानीय महत्त्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरू समावेश छन् ।
दुवै निकायबीच भएको सहमति चार वर्षको छ । यसलाई थप नवीकरण गर्न सकिने पनि सम्झौतामा उल्लेख छ ।
