जनतालाई विकासमा जोड्ने बजेट ल्याएका छौँ : अर्थमन्त्री शाह

असार २, २०८२

तृप्ति शाही

We have brought the budget to connect people to development: Finance Minister Shah

वीरेन्द्रनगर — कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले जनतालाई विकासमा जोड्ने बजेट ल्याएको बताएका छन् ।

सोमबार बजेटबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले यो वर्षको बजेट जनताको लागि ल्याइएको दाबी गरे । पहिलेको तुलनामा यो वर्षको बजेट जनतालाई प्रत्यक्ष रूपमा जोड्ने भएको उनको भनाइ छ । 

अनेकथरिका प्रेसरकाबीच पनि जनतालाई विकासको अनुभूति हुने खालको बजेट ल्याउन सफल भएको उनले बताए । 'व्यक्तिलाई बाँड्ने कुरालाई त्यागेर जिल्लामा ठूला सडक,पुल बनाउनको लागि बजेट विनियोजन गरेका छौँ,' उनले भने, 'सबै मन्त्रालयलाई अलिकता भएपनि सिलिङ बढाएर बजेट दिएका छौँ ।' सासंदहरूको लागि छुट्टाइने बजेट घटाएर जनताको लागि बजेट हाल्न सफल भएको मन्त्री शाहले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गरेको हो ।

जसमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षभन्दा ५ प्रतिशत बढीको बजेट सरकाले ल्याएको हो ।

कर्णाली सरकारले आइतबार राति १२ बज्नभन्दा केही मिनेटअघि मात्र बजेट सार्वजनिक गरेको हो । दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यातालिका भएपनि दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा राति बजेट ल्याएको हो ।

प्रदेश सरकारले ल्याएको ‘योजना बैंक’ अपारदर्शी र एकलौटी भएको आरोप विपक्षीहरूले लगाएका थिए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully