वीरेन्द्रनगर — हुम्लामा आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् । आइतबार राति सर्केगाड गाउँपालिका–३ को उनापानी गाउँमा लागेको आगोबाट ८ वटा घर नष्ट भएका हुन् ।
आगलागीबाट स्थानीय विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दूधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
सर्केगाड प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार मानवीय तथा पशुको क्षति भएको छैन । आगलागीमा परी घरमा रहेका सम्पूर्ण सामान नष्ट भएको स्थानीय धनबहादुर रावतले बताएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलसहितको टोली घटनास्थल उनापानी गएको छ ।
