कालीकोट — शनिबार बेलुकी घरमा आगलागी हुँदा नरहरिनाथ-६ माल्कोट राताखालका रमाने विश्वकर्माको ८ जनाको परिवारको बिचल्ली भएको छ । नाबालक छोराले लाइटर बाल्दा कपडा सल्किएर भएको आगलागीमा लत्ताकपडा, अन्नपात, नगदसहित जलेपछि परिवारको बिचल्ली भएको हो ।
'लत्ताकपडा सल्किएर सुरु भएको आगो निभाउन सकिएन,' ५३ वर्षीय विश्वकर्माले गुनासो पोखे, '८ जनाको परिवार भोकै अर्काको गोठमा सुत्यौं । भारत गएर ज्याला मजदुरी गरेर जोडेको सबै सम्पत्ति खरानी भयो ।'
स्थानीयले नजिकको धाराबाट पानी बोकेर आगो निभाउने प्रयास गरे पनि निभाउन नसकिएको नरहरिनाथ-६ का वडाध्यक्ष पौराम विश्वकर्माले बताए ।
आगलागीले टिनको बाकसमा राखेको २० हजार नगद, पत्नीको गहना र १३ वटा मौरीको घार पनि जलेको विश्वकर्माले बताए ।
दिउँसो घरमा आगो लागेकाले परिवारका सदस्य सुरक्षित भए पनि सबै सम्पति जलेकाले दलित परिवारको बिचल्ली भएको सशक्त बालिका परियोजनाकी अधिकृत रमिता बटालाले सुनाइन् । 'बच्चाहरूको ड्रेस र किताबकापी पनि छैन । तत्काल सहयोगको खाँचो छ,' उनले भनिन् । उनका अनुसार आगलागीमा घरसहित १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले मुचुल्का उठाएको छ ।
