जुम्ला — कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका-१ राँका गाउँ नजिकै सुख्खा पहिरो जाँदा एक घण्टादेखि सवारीसाधन चल्न सकेका छैनन् । दिउँसो सवा २ बजेतिर पहिरो खसेको हो ।
पहिरोका कारण ५० भन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरु पैदल हिँडेर गन्तव्यमा पुग्नु पर्ने अवस्था आएको पहिरो गएको स्थानबाट नेपाल पत्रकार महासंघ शाखा जुम्लाका निर्वतमान अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार एक्कासी सुख्खा पहिरो झरेको हो । २० देखि २५ मिटर लामो पहिरो खसेको उनको भनाइ छ । उनले भने, ‘पहिरो पन्छाउन सुरु भएको छैन । स्थानीय प्रहरी प्रशासन र तातोपानी गाउँपालिकामा खबर भइसकेको छ ।’ यात्रुहरुले छिटोभन्दा छिटो पहिरो हटाएर राजमार्ग खोल्न आग्रह गरेका छन् ।
ठुल्ठुला चट्टान खसेकोले सडक खुलाउन दुई/तीन घण्टा समय लाग्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । पहिरोले मानवीय क्षति भएको छैन । तर यातायात सेवा ठप्प भएकोले जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पहिरो गएको स्थानमा नजिकैका प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको टोली खटिएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार सडक खुलाउन डोजर पठाइसकिएको छ । पहिरो हातले पन्छाउन सकिने अवस्था छैन । तर डोजरको प्रयोग गरेर छिटोभन्दा छिटो सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेत नेपालगन्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत, नेपालगन्ज जाने यात्रुहरु मर्कामा छन् । छोटो दुरीका सवारीसाधनहरुसमेत रोकिएको स्थानीयले बताए ।
