जुम्लाका तीन किसानले पाए मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

जेष्ठ २६, २०८२

डीबी बुढा

Three farmers from Jumla received the Chief Minister's Best Award

जुम्ला — जुम्लाका तीन किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषि तथा पशुपालन उद्योगका सन्तोष बस्नेत, पाण्डे पशुपालन उद्योगकी रीता पाण्डे र असल कृषि तथा पशुपन्छी पालन उद्योगकी सन्तकली भण्डारीले उत्कृष्ट मुख्यमन्त्री कृषक पुरस्कार पाएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि ९ जना छनोट गरेको थियो । जसमध्ये ३ जना उत्कृष्ट किसान घोषित भए । पशु विकास अधिकृत पदमबहादुर केसीले व्यवसायिक रुपमा किसान पेसामा लागेका किसानहरुका लागि यो पुरस्कार अवसरमा रुपमा रहेको बताए ।

उनका अनुार सन्तोषले ३० हजार रुपैयाँ, रीता र सन्तकलीले २५ हजार रुपैयाँ र प्रमाणपत्र पाएका हुन । सन्तोष बाख्रापालनमा उत्कृष्ट बनेका छन् । उनका ४ सय भेडाबाख्रा छन् । 'यो पुरस्कारले मेहनतको कदर भएको अनुभूति गरायो,' उनले भने, ‘आगामी दिनमा अझै व्यावसायिक बन्न प्रेरणा मिलेको छ ।’ रीताले १२ वटा भैंसी पालेकी छिन् ।

सन्तकलीका २ सय भेडा छन् । 'भेडापालनबाटै गुजारा चलेको छ,' उनले भनिन्, ‘अब भेडापालन गुजारामुखी मात्र हुन सक्दैन । व्यावसायिक रुपमा पालेर रोजगारमुखी बनाउने कसरत गरिरहेको अवस्था छ ।’

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानको मेहनतले सामाज जीवित रहेको बताए । 'किसानले उत्पादन नगरे भोकमरी हुन्छ,' उनले भने, ‘किसानको ठूलो महत्व छ । सम्मान र अवसर दिन जरुरी छ ।’

पशु अस्पताल तथा पशु विकास कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले किसान उत्साहित गराउनु मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको लक्ष्य रहेको बताए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully