वीरेन्द्रनगर — कर्णाली प्रदेशमा सामाजिक विग्रहका घटना बढेका छन्। उच्च अदालत सुर्खेतमा त्यस्तै प्रकृतिका मुद्दाको चाप देखिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा सामाजिक विग्रहका मुद्दाको संख्या उच्च रहेको पाइएको छ।
गत साउनदेखि जेठ २१ सम्म उच्च अदालत सुर्खेतमा जबरजस्ती करणीका मुद्दा मात्र १ सय ३१ मुद्दा दर्ता भएका छन्। जसमा १ सय १३ फर्छ्योट भएका छन् भने १८ मुद्दा किनारा लाग्न बाँकी छन् ।
यो वर्ष उच्च अदालतमा सबैभन्दा बढी समाजसँग जोडिएका जबरजस्ती करणी सम्बन्धीका मुद्दा परेका कायम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्ष ज्यान सम्बन्धी कसुरका मुद्दा समेत बढेका छन्। चालु आर्थिक वर्षमा जबरजस्ती करणीपछि कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा परेका छन् । यसमा १ सय ८ मुद्दा परेका छन् । जसमा ७५ मुद्दा फर्छ्योट भएका छन् भने ३३ बाँकी छन् ।
यस्तै लागुऔषध सम्बन्धी मुद्दामा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षमा लागुऔषध सम्बन्धी ७३ मुद्दा दर्ता भएका छन् । जसमा ५६ मुद्दा फर्छ्योट भए भने १७ मुद्दा विचाराधीन छन् । उच्च अदालतमा विवाह सम्बन्धी कसुरका ६१ मुद्दा दर्ता भएकोमा २६ मुद्दा फर्छ्योट भए । ३५ मुद्दा किनारा लाग्न बाँकी छन् ।
चालु आर्थिक वर्षमा चोरीका मुद्दामा पनि वृद्धि भएको छ । यो अवधिमा ४५ चोरी कसुरका मुद्दा दर्ता भए । जसमा ३८ मुद्दा फर्छ्योट भए भने ७ मुद्दा विचाराधीन छन् । यस्तै जातीय छुवाछुत सम्बन्धीका ३१ मुद्दा परेका छन् । २९ मुद्दा फर्छ्योट भएका छन् भने २ मुद्दा फर्छ्योट हुन बाँकी छन् ।सामाजिक विग्रहका मुद्दा बढेसँगै सामाजिक सद्भाव र एकतामा खलल पुग्ने जोखिम बढेको उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश भट्टराईले बताए ।
यस्तै उच्च अदालत सुर्खेतमा वन तथा वन्यजन्तु सम्बन्धी १७ मुद्दा दर्ता भएका छन् । ५ मुद्दा किनारा लागे । १२ मुद्दा फर्छ्योट हुन बाँकी छन् । हातहतियार खरखजना सम्बन्धी ६ मुद्दा दर्ता भएकोमा ४ फर्छ्योट भइसकेका छन् । दुई मुद्दा किनारा लाग्न बाँकी छन् । चालु आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसारका पनि ५ मुद्दा दर्ता भएको उच्च अदालत सुर्खेतले जनाएको छ । जसमा ३ मुद्दा फर्छ्योट भए भने २ बाँकी छन् ।
चालु आर्थिक वर्षको हालसम्म ९४ रिट निवेदन दर्ता भए । ७६ फर्छ्योट भएकोमा १८ रिट बाँकी छन् । यो अवधिमा अन्य शीर्षकमा २ सय ४ मुद्दा दर्ता भएकोमा १ सय ८४ फर्छ्योट भए । २० मुद्दा विचाराधीन छन् । चालु आर्थिक वर्षमा उच्च अदालतले एक सय ७१ थुनुवा प्रतिवादी भएकामध्ये १ सय ३२ मुद्दा फर्छ्योट गरेको जनाएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३२ र चालु आर्थिक वर्षमा १ सय ३९ थुनुवा प्रतिवादी भएका नयाँ मुद्दा दर्ता भएका थिए । अब थुनुवा प्रतिवादी भएका ४२ मुद्दा फर्छ्योट हुन बाँकी छन् फर्छ्योट भएका मुद्दाका ३२ पुरुष , १४ बालबालिका र २ महिला गरी ४८ व्यक्ति थुनामा छन् ।
तीन वर्षमा २ हजार बढी मुद्दा फर्छ्योट गरेको उच्च अदालत सुर्खेतले जनाएको छ । आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८१/८२ को जेठ २१ सम्म अदालतमा जिम्मेवारी सरेका र नयाँ परेका २ हजार २ सय ९१ मध्ये २ हजार १ सय २५ मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका २ सय ४६ गरी ९ सय २२ मुद्दा दर्ता भएकोमा ७ सय ६२ मुद्दा फर्छ्योट भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा ७ सय ५६ नयाँ र १ सय ६० जिम्मेवारी सरेर आएका सहित ९ सय १६ मुद्दा दर्ता भएकोमा ७ सय ५४ फर्छ्योट भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ २१ सम्म जिम्मेवारी सरेर आएका १ सय ६२ र नयाँ ६ सय १३ गरी ७ सय ७५ मुद्दा दर्ता भएको उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलले जानकारी दिए । उनका अनुसार नयाँ दर्ता भएका ४ सय ४७ र अघिल्लो वर्षको दायित्व सरेका १ सय ६२ मुद्दामध्ये ६ सय ९ मुद्दा फर्छ्योट भए । १ सय ६६ मुद्दा किनारा लाग्न बाँकी भएका उनले बताए ।
न्यायाधीश पोख्रेलका अनुसार चालु आर्थिक वर्षमा १ हजार नयाँ मुद्दा लगत हुने अनुमान गरिएको छ भने असार मसान्तसम्म ७ सय १२ मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखिएको छ । उच्च अदालत सुर्खेतको क्षेत्राधिकारमा कर्णालीका ५ जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिम पर्दछन्।
