जगदुल्लामा पहिलो पटक महिलाको पूर्ण सहभागितामा विकास योजना निर्माण हुँदै

जेष्ठ २६, २०८२

रामचन्द्र न्यौपाने

For the first time in Jagdulla, a development plan is being created with the full participation of women

डोल्पा — डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलो पटक स्थानीय महिलाको पूर्ण सहभागितामा विकास योजना निर्माण भइरहेको छ । वडा नं २ स्थित काइगाउँ बजारमा निर्माण भएको ढल निकास सम्बन्धी योजना महिलाको पूर्ण सहभागितामा निर्माण भइरहेको हो ।

गाउँपालिकाका १७ वटा आयोजनामध्ये एउटा योजना नमुनाको रुपमा चिनाउन उपभोक्ता समितिमा छनोटदेखि निर्माण कार्यमा पनि महिलाको सहभागिता गराइएको हो ।

योजनाको उपभोक्ता समितिको नेतृत्व स्थानीय लक्ष्मी बुढाथोकीले गरेकी छन् ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको प्राविधिक टोलीले विकास योजनामा समावेशी नेतृत्व प्रवर्द्धन गर्न कार्यविधि निर्माण गरेसँगै पहिलो पटक विकास योजनामा महिलाको पूर्ण सहभागी गराइएको गाउँपालिकाले जनाएको छ । 

For the first time in Jagdulla, a development plan is being created with the full participation of women

उक्त योजनाबाट ७८ घरधुरी लाभान्वित हुनेछन् भने जसबाट बीस जना महिला कामदारलाई चालिस दिनसम्म रोजगार सिर्जना भएको बताइएको छ ।

जिल्लाका विकट क्षेत्रमा विकसित उपभोक्ता समिति गठनदेखि योजनामा महिलालाई राख्न नहुने परम्परागत धारणालाई चिर्न ढल निकास योजनामा महिलाको पूर्ण सहभागिता गराइएको गाउँपालिकाका उपाध्यक्ष अमृता लामाले बताइन् । 

For the first time in Jagdulla, a development plan is being created with the full participation of women

योजना निर्माणपछि धाराको पानी र घरबाट निस्केको फोहोर पानीको समुचित व्यवस्थापन भइ स्वच्छ वातावरण निर्माणमा टेवा पुग्ने उपाध्यक्ष लामाले बताइन् ।

जारी आवमा गाउँपालिकाले समावेशी र महिला सहभागितालाई उपभोक्ता समिति गठन तथा परिचालनमा प्रोत्साहन गर्न नयाँ कार्यविधि समेत पारित गरेको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully