पर्यटक बढाउन कुमाख लेकमा पदमार्ग निर्माण

जेष्ठ २६, २०८२

विप्लव महर्जन

Construction of footpath at Kumakh Lake to increase tourists

सल्यान — जिल्लाको धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित कुमाख लेकमा रहेको मन्दिरमा पुग्न पदमार्ग निर्माण गरिएको छ । आन्तरिक तथा बाहय पर्यटक बढाउन डिभिजन वन कार्यालय सल्यानको पर्यटन प्रवर्द्धन कार्यक्रम र स्थानीयको श्रमदानमा पदमार्ग निर्माण गरिएको हो । 

चारैतिर चट्टानैचट्टान र ठूलो भीरमा गोरेटोसमेत गतिलो नभएकाले भक्तजनहरु जोखिम मोलेर कुमाख लेखको चुचुरोमा रहेको मन्दिरमा जान बाध्य भएका थिए । पदमार्ग निर्माण भएपछि भक्तजन र ट्रेकिङ प्रेमीलाई आउजाउमा सहज भएको छ ।

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैया र बाँकी स्थानीयको श्रमदान गरी करिब १८ लाख रुपैयाँमा कुमाख लेकमा ३ सय २० मिटर पदमार्ग र मन्दिरमा २ वटा ढोका निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए ।

कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाको मध्य भागको २ हजार ५ सय ३७ मिटरको उचाइमा रहेको भीर तथा चट्टान फोरेर निर्माण गरिएको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई यात्रामा धेरै सहज भएको पदमार्ग निर्माण समितिका सचिव मोहन डीसीले बताए ।

Construction of footpath at Kumakh Lake to increase tourists

कुमाख लेकबाट रुकुम, रोल्पा, बाँके, जाजरकोट लगायतका जिल्लाका गाउँबस्ती, पहाड र फाँट अवलोकन गर्न सकिन्छ ।

मन्दिरका पुजारी खिमलाल डाँगीले पदमार्ग निर्माण गरेपछि आउजाउमा सहज भएपछि हिजोआज दैनिकजसो स्थानीयले मन्दिरमा आएर पूजाआजा गर्न थालेको बताए । उनका अनुसार मन्दिरमा दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पूजाआजा गरिन्छ ।

कुमाख लेक धार्मिक, प्राकृतिक दृष्टिकोणले मात्र नभई बाह्क पर्यटकलाई प्याराग्लाइडिङका लागि समेत उपयुक्त स्थल रहेको स्थानीय लालबहादुर डाँगीले बताए । 'मन्दिरसम्म पुग्नका लागि रेलिङ, पर्यटकका लागि विश्रामस्थल, खानेपानी र शौचालय आवश्यक छ,' उनले भने ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully