जुम्लामा हिमानी ट्रष्टले बर्थिङ सेन्टर बनाउने

जेष्ठ २५, २०८२

डीबी बुढा

Himani Trust to build a birthing center in Jumla

जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिका-१ मणिसाँघुमा हिमानी ट्रष्टले बर्थिङ सेन्टर बनाउन सुरु गरेको छ । दुर्गमका महिलालाई सुत्केरी गराउन कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै बर्थिङ सेन्टर बनाउने योजना बनेको ट्रष्टले जनाएको छ ।

पूर्वयुवराज्ञी हिमानी शाह आफै पुगेर बर्थिङ सेन्टरको शिलान्यास गरेकी हुन् । उनीसँगै छोरा हृदयन्द्र पनि सहभागी भए । सेन्टरको शिलान्यास आइतबार भए पनि उनीहरु शनिबार नै जुम्ला आएका थिए । जुम्ला सदरमुकाम खलंगादेखि झन्डै दुई घण्टाको गाडीयात्रा गरेर उनीहरु मणिसाँघु पुगेका थिए । 

राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले हिमानी ट्रष्टले गरेको काम प्रशंसनीय रहेको बताए । उनले भने, ‘अस्पतालसम्म जान नसकेर कुनै पनि आमा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था आउनेछैन । सुरक्षित सुत्केरी गराउन यो बर्थिङ सेन्टर उदाहरण बन्नेछ ।’

गुठिचौर-१ का वडाध्यक्ष अर्जुन महाताराले एक करोड ५० लाख रुपैयाँको लागतमा आवाससहितको बर्थिङ सेन्टरको शिलान्यास भएको बताए । उनका अनुसार यहाँ दुईवटा भवन बन्नेछन् । ६ महिनाभित्र बर्थिङ सेन्टर निर्माणको काम सकिएर सेवा प्रारम्भ हुने महाताराले बताए ।सेन्टरबाट गुठीचौर-१ र २ का ९ वटा बस्तीले सेवा पाउनेछन् ।

Himani Trust to build a birthing center in Jumla

'गाउँमा भरपर्दो स्वास्थ्य सेवा नपाउदा कैयौं गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । केही त अस्पताल लैजाँदा बाटोमै सुत्केरी भइरहेको भेटिन्छन्,' वडाध्यक्ष महाताराले भने, ‘अब बर्थिङ सेन्टरमै सुरक्षित रुपमा सुत्केरी गराउने वातावरण बनेको छ । यो दुर्गममा हाम्रा लागि निकै खुसीको कुरा पनि हो ।’

गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थामा गरेको सहयोग निकै प्रशंसनीय रहेको प्रतिक्रिया दिए । उनले भने, ‘दुर्गममा गर्भवती र सुत्केरीको अवस्था निकै जटिल छ । अब बर्थिङ सेन्टर बनेपछि ढुक्कसँग सुत्केरी आमा र बच्चाको अवस्था सुरक्षित हुनेछ ।’

बर्थिङ सेन्टरका लागि गुठीचौर-१ का लेखक महताराले नि:शुल्क जग्गादान गरेका छन् । उनलाई शाहले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिन् ।

तीन वर्षअघि ट्रष्टले गुठीचौर-१ चोत्रागाउँमा रहेको हिमाली रम्भा आवासीय विद्यालयमा लत्ताकपडा सहयोग गरेको थियो । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully