रेड पान्डा संरक्षणमा तिलागुफाको चासो

अनुसन्धानका लागि नगरले बजेट विनियोजन गर्ने प्रतिबद्धता 

जेष्ठ २४, २०८२

तुलाराम पाण्डे

Tilagufa's interest in red panda conservation

कालिकोट — तिलागुफाका स्थानीयले हाब्रे (रेड पान्डा)को चोरी सिकारी नियन्त्रण तथा संरक्षणमा चासो राख्दै अभियान चलाउने प्रतिबद्धता गरेका छन् । साइटिस महासन्धिले संरक्षित वन्यजन्तुको सूचीमा राखेको लोपोन्मुख रेडपाण्डाको संरक्षणका लागि नगरपालिकाले प्रतिबद्धता जनाएको हो ।

रेडपाण्डाको प्रमुख बासस्थान रहेको तिलागुफा नगरपालिकाको रुरु, रताडा, पुग क्षेत्रमा चोरी निकासी नियन्त्रण गर्दै संरक्षणको विशेष योजना बनाउने नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । 'लोपोन्मुख रेडपान्डा संरक्षणमा नगर सरकारसहित सबै समुदाय सक्रिय हुनुपर्छ,' उनले शुक्रबार पालिका केन्द्र गाल्जेमा आयोजित कार्यक्रममा भने, 'नगरपालिकाले आगामी बजेटमा रेड पान्डा संरक्षणका लागि नीति तथा कार्यक्रमसहित खोज र अनुसन्धान गर्न बजेट विनियोजन गर्ने छौँ । तिलागुफा, खाँडाचक्र, महाबै र शुभकालिका क्षेत्रमा रेड पान्डा संरक्षित क्षेत्र घोषणा गरेर पर्या–पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।' उनले नगरको क्षेत्रमा भेटिएका महत्त्वपूर्ण वनस्पति तथा वन्यजन्तुको सूचना पालिकालाई जानकारी दिनुपर्ने सुझाव दिए ।

तिलागुफाको रुरू बन्चु र रताडाको महादेव, भात्तडीको कैलाश सामुदायिक वन क्षेत्रमा ३० देखि ४० वटासम्म रेड पान्डा रहेको आकलन छ । त्यसैगरी महाबै र शुभकालिकाको जंगलमा १५ देखि २० वटा हाब्रे हुन सक्ने अनुमान गरिएको रेडपान्डा संरक्षणमा सक्रिय मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालका व्यवस्थापक दिलीपकुमार शाहीले बताए । उनका अनुसार कालिकोटमा सन् २०१८ देखि हुरेण्डेक र हिमालयन सामुदायिक स्रोत विकास वन क्षेत्रमा रेड पान्डा संरक्षणको लागि समूह गठन, तालिम, वनगस्ती लगायतका काम गर्दै आएको छ । यहाँका रताडा, रुरु क्षेत्रका भेडापालक कृषक सामुदायिक वन उपभोक्ताहरू रेड पान्डा संरक्षणमा जुटेको रेड पान्डा संरक्षणमा सक्रिय तिलागुफा–९ का जगदीश कोइरालाले जानकारी दिए ।

रेड पान्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशीले सोधीखोजी गर्न थालेपछि रेड पान्डाको बासस्थान बचाउन स्थानीय जुटेको तिलागुफा–१० का वडाध्यक्ष मुनबहादुर थापा मुनालले बताए । संरक्षित क्षेत्रमा डढेलो लाग्न नदिने, नियमित वृक्षारोपण गर्ने, वनफँडानी रोक्ने र रेडपाण्डाको बासस्थान जोगाउने काम स्थानीयले गरेको उनले सुनाए ।

रेड पान्डाको बासस्थानका लागि निगालो, धुपी, घोडापाङ्गर, चुक, काठेओखर, खस्रु, सल्लो, झुलो, भोजपत्र र ठिङ्गोका बिरुवा रोपिएको छ । जंगलभित्र पोखरी निर्माण गरिएको छ । नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले भने, 'दुर्लभ रेड पान्डाको बासस्थान बस्ती नजिकै भेटिँदा उत्साहित भएका छौँ । यसको संरक्षण जरुरी छ । के गर्दा रेड पान्डाको बासस्थान जोगाउन सकिन्छ भन्ने विषयमा खोजी गर्न थालेका छौँ ।'

सर्वसाधारणलाई सचेत गराउने, जंगल फडानी गर्नेलाई समुदायस्तरमा स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको तिलागुफा–२ का वडाध्यक्ष तुलबहादुर बोहोराले बताए ।

समुदायको रेड पान्डाप्रतिको मोह देखेर रेड पान्डा नेटवर्क काठमाडौँ र हुरेण्डेक नेपाल र एचआरडिसी कालिकोटले ती क्षेत्रमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यान्वयनमा ल्याएको हिमालयन स्रोत विकास केन्द्रका अध्यक्ष कर्णप्रसाद चौलागाईंले जानकारी दिए ।

आउने अगस्टदेखि रेड पान्डाको निगरानीका लागि रुरु वन क्षेत्रमा सिसीक्यामेरा जडान गर्ने तयारी भइरहेको डिभिजन वन कार्यालयका दमन सञ्ज्यालले जानकारी दिए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully