बिरुवा रोपिन्छ, हुर्काउन छैन चासो

जेष्ठ २४, २०८२

तुलाराम पाण्डे

Seedlings are planted, not interested in growing

जुविथा, कालिकोट — विश्व वातावरण दिवसको अवसर पारेर प्रत्येक वर्ष वृक्षारोपण गरिँदै आएको छ । ठूलै तामझामका साथ वृक्षारोपण गरिन्छ पनि । तर, रोपिएका बिरुवामध्ये १० प्रतिशत पनि हुर्कन पाउँदैनन् । पूर्वतयारी बिना रोपिएका बिरुवा जुन ५(बिहीबार)को विश्व वातावरण दिवस अवसरमा जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रोप्ने लहडजस्तै भएपनि चर्को गर्मीले १० प्रतिशत पनि बिरुवा नबाँच्ने अवस्था रहेको नागरिक अगुवा धनराज रोकायाले बताए ।

'बिरुवा रोपिन्छन्, हुर्किँदैनन्,' उनले भने,  'प्रत्येक वर्ष वातावरण दिवसमा रोपिएका बिरुवा मात्र हुर्किएको भए उजाड डाँडाकाँडा हरियाली हुन्थे होलान् । ' उनले जेठको चर्को घाममा बिरुवा रोपेर नसर्दै सुकेर नष्ट हुने बताउँछन् ।

यसैबीच जिल्ला वन डिभिजन कार्यालय कालिकोटले पहिलो पटक जिल्ला सदरमुकाम मान्मभन्दा बाहिर गाउँ पुगेर बिहीबार वृक्षारोपण गरेको छ । 'प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व' भन्ने नाराका साथ स्थानीय कर्णाली उत्थानशील समाज (कृन) नेपालको सहजीकरणमा डिभिजन वनले ओखर, धुपी, सल्लोलगायतका बिरुवा उपलब्ध गराएर तिलागुफा–६ जुविथास्थित मस्टो सामुदायिक वन र जनज्योति आविको हातामा एक सय बढी बिरुवा रोपिएको छ ।

बढ्दो वन विनाश र औद्योगिकीकरणले तापक्रम बढेर जलवायु परिवर्तनले उत्पादन घट्दै गएको सुनाउँदै वातावरण सन्तुलनका लागि तिलागुफा नगरपालिकाले वृक्षारोपणलाई अभियानको रूपमा सञ्चालन गरिरहेको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । 'तिलागुफालाई हरित नगर बनाउने अभियानमा छौँ,' उनले भने, 'एक घर, एक बगैँचा, प्लास्टिक रहित गाउँ बस्ती अभियानको रूपमा सञ्चालन गरिएको छ ।'  तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा कृन नेपालको सहयोगमा ५ हजार सुधारिएको चुलो वितरण गरेर ५० हजार टन धुवाँ न्यूनीकरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

Seedlings are planted, not interested in growing

कालिकोटमा जंगलमा गरिने आगलागी, वन फडानी प्रमुख समस्या रहेको जनाउँदै डिभिजन वन प्रमुख धर्मराज उपाध्यायले वन संरक्षण सबै सरोकारवाला महत्त्वपूर्ण काम भएको बताए । 'कार्यक्रम सानो भएपनि वृक्षारोपण जस्तो पवित्र धार्मिक कार्य गर्‍यौँ,' उनले भने, 'संसारभरि बिग्रँदो पारिस्थितिक प्रणालीले पृथ्वी तात्दै छ ।'

उनले थपे, 'नयाँ रोग देखिएको छ, कृषि उत्पादन घट्दो छ, अत्यधिक विषादीको प्रयोगले माटो र पानी दूषित छ, नयाँ नयाँ रोग देखिएको छ ।' यही सन्देश दिन गाउँ पुगेर वृक्षारोपण गरिएको उनले सुनाए । भने, 'विषादी प्रयोग नगरेको तरकारी बच्चाबच्चीलाई खुवायौँ भने जीवन दान हुन्छ । खानपिनमा विषादी रहित बनाउन सकियो भने पनि ५० प्रतिशत रोगव्याधिबाट बच्न सकिन्छ ।'

Seedlings are planted, not interested in growing

गाउँका नांगा पाखामा वृक्षारोपण नगर्ने घाँस पलाउँछ भनेर जथाभावी आगलागी गर्नेलाई कारबाही गरिने सुनाउँदै तिलागुफा–६ का वडाध्यक्ष पर्वलाल शाहीले यहाँको कालाशिल्ला वनमा आगलागीले गर्दा पूरै वन विनाश भएको बताए । उनले भने, 'वनमा आगो लगाउने दोषीलाई कडा कारबाही गर्नु पर्छ । वृक्षारोपण अभियानको रूपमा सञ्चालन गर्नु पर्छ ।'

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully