कालीकोट — कर्णाली राजमार्गको सुर्खेत-जुम्लाअन्तर्गत कालीकोटको गाल्जे नजिकै पहिरो खस्दा शुक्रबार बेलुकी ४ बजेदेखि सडक अवरुद्ध भएको छ । जुविथा जिउलोको पानीले गाल्जे नजिकै भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । साँघुरो सडकमा पर्खाल खसेकोले सयौं मालबाहक गाडी रोकिएका छन् ।
'साना गाडी त पास हुन्छन्,' स्थलगत अनुगमनमा मान्मबाट तिलागुफा आएका कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, 'ठूला गाडी जान सक्ने अवस्था छैन ।'
उनले सडक डिभिजन कार्यालय जुम्लाको टोली मेसिनसहित पहिरो गएको ठाउँमा पुगिसकेकाले शनिबार राति चट्टान फुटाएर सडक सञ्चालन गर्न लागीपरेको बताए । शनिबारदेखि गाडी रोकिएकोले मालबाहक ट्रकका चालक, सहचालक र यात्रुले कच्ची पर्खाल लगाएर गाडी पास गर्ने प्रयास गरिरहेका छन् ।
कर्णाली राजमार्ग वर्षा नलाग्दै पहिरो सुरु भइसकेकोले असार साउनमा यात्रुलाई बढी सास्ती हुने अस्थायी ट्राफिक पोस्ट खल्लागाडका प्रहरी हवल्दार चन्द्रबहादुर घर्तीले बताए । 'साना गाडी त पठाइरहेका छौं,' उनले भने, 'बस र मालवाहक गाडी रोकिएका छन् ।'
कर्णाली राजमार्गको कालीकोट तिलागुफा-६ गाल्नेमा गएको पहिरोले रोकिएका गाडी तथा सडकमा पर्खाल लगाउँदै गाडीका मजदुरहरु । तस्बिरहरु : तुलाराम/कान्तिपुर
सडक अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला, मुगु जाने र जुम्ला, मुगुबाट कालीकोट, दैलेख, सुर्खेत जाने गाडी रोकिएको प्रहरीले जनाएको छ । वर्षा लागे पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुने समस्याले सास्ती हुने गरेको मान्म बजारका उद्यमी बबुर शाहीको भनाइ छ । 'सडक गतिलो नहुँदा जहिल्यै दुःख पाइन्छ,' उनले भने,'वर्षा लागे पहिरो र हिलो, हिउँद लागे धूलो यात्रा गर्दा सास्ती पाइन्छ ।'
कुल २३३ किमि लम्बाई रहेको कर्णाली राजमार्गको नाग्मा जुम्ला खण्डमा सडक राम्रो रहे पनि त्यसभन्दा तल कालीकोट र दैलेख खण्ड हिलाम्मे र धुलाम्मे हुने समस्या छ ।
