कालिकोट — यहाँको तिलागुफा नगरपालिकाको शिक्षा सुधारका लागि सरोकारवालाबीच छलफल भएको छ । शिक्षक विद्यार्थी अनियमितता, हिउँदयाममा विद्यार्थी ट्युसन पढ्न जिल्ला छाड्ने प्रवृत्ति, शिक्षक विद्यार्थी अनुपात र विद्यालय मर्च लगायतका विषयमा भएको छलफल भएको नगर शिक्षा समिति पअध्यक्ष तथा नगर प्रमुख शंकर उपाध्यायले बताए ।
'नगरको शिक्षा सुधार्न शिक्षकहरुकै हात हुन्छ,' छलफलका विषयवस्तु प्रस्तुत गर्दै उनले भने तपाईंहरूका रचनात्मक सुझाव सल्लाहअनुसार शिक्षा क्षेत्रको आगामी योजना बनाउन सहयोग पुग्नेछ ।' उनले पालिकामा आवश्यकताभन्दा पनि लहड र रहरले सञ्चालन गरिएका विद्यालय समस्याका रुपमा रहेको बताए । विद्यालय शिक्षा सुधार्न शिक्षक प्रतिबद्ध हुनुपर्ने महादेव माविका प्राचार्य नरदीप शाहीले बताए ।
सरोकारवालाले शिक्षा सुधार्न दरबन्दी मिलान र विद्यालय मर्चलाई मुख्य विषय बनाउँदै स्थलगत अनुगमनसहित सुझाव दिन नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको संयोजकत्वमा वडाध्यक्ष, शिक्षक महासंघसहित शिक्षकका पेसागत संघ संगठनका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गरिएको छ । शिक्षक दरबन्दी मिलान र विद्यालय मर्च प्रमुख समस्या छ । शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति नवीन हमालले भने सबै वडाका वडाध्यक्ष, शिक्षक प्रतिनिधि रहेको समितिले तथ्यांकका आधारमा प्रतिवेदन तयार गरेर नगरसभामा पेस गरेपछि कार्यान्वयन गरिनेछ ।
१० वटा माविसहित ३६ वटा विद्यालय रहेको तिलागुफामा विद्यार्थी अनुपातमा शिक्षक धेरै भए पनि नगर अनुदानबाट समेत शिक्षक भर्ना गरिएको छ । यहाँका केही विद्यालय माविमा विषयगत शिक्षक छैनन् । शिक्षक भएका विद्यालयले पनि दसैंपछि १० कक्षाका विद्यार्थी विद्यालय टिकाउन नसक्ने अवस्था रहेको कालिका मावि राचुलीका शिक्षक दुर्गाप्रसाद कोइरालाले बताए । केही विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी ट्युसन पढ्न जिल्ला बाहिर जानु स्वाभाविकै हो । उनले भने, 'दरबन्दी भएका विद्यालयमा पनि विद्यार्थी नबस्ने समस्या छ, यसले अभिभावकको लाखौं रकम खर्च हुने गरेको छ ।'
तिलागुफा नगरपालिकाका ३६ मध्ये १४ विद्यालयमा विद्यार्थी नै ५० भन्दा कम छन् । त्यहाँ शिक्षक दरबन्दी भने बढी छ । ५० भन्दा कम विद्यार्थी भएका विद्यालय वडा नं १ मा २ वटा छन् भने बाल विकास शिक्षकसहित ९ जना शिक्षक दरबन्दी छ । त्यस्तै, वडा नं ५ का २ विद्यालयमा ६ जना, वडा नं ६ का २ विद्यालयमा ६, वडा नं ७ का २ विद्यालयमा ८, वडा नं ८ को १ विद्यालयमा ४ जना शिक्षक दरबन्दी छ ।
त्यस्तै, वडा नं ९ का २ विद्यालयमा ८, वडा नं १० को १ विद्यालयमा २ र वडा नं ११ का २ विद्यालयमा ७ जना शिक्षक दरबन्दी रहेको शिक्षा शाखाले जनाएको छ ।
नगरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न, दरबन्दी मिलान गर्न, खर्च कटौती गर्न र शिक्षामा अभिभावकको अपनत्व बढाउन समितिले काम गर्ने नगर उपप्रमुख शाहीले प्रतिबद्धता गरे । 'शिक्षामा कसैले पनि राजनीति गर्नु हुँदैन,' उनले भने, 'भावी पुस्ताको भविष्य सुधार्न निर्मम भएर तेरो/मेरो नभनेर सामूहिक निर्णय गर्नु पर्छ ।'
शैक्षिक सरोकारवालाको बैठकले प्रत्येक विद्यालयका प्रधानाध्यापकले हरेक दिन शिक्षक हाजिरी नगरपालिका पठाउने, वैशाखमा विद्यालय नचलेको दिनको हाजिरी रेकर्ड अपडेट गरी पठाउन पनि विद्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
