सल्यान — जिल्लाको कपुरकोट गाउँपालिकाले अन्तरजातीय विवाह गरेका १४ जोडीलाई सम्मान गरेको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन गर्ने उद्देश्यका साथ गाउँपालिकाले अन्तरजातीय विवाह गरेका १४ जोडीलाई सम्मान गरेको हो ।
पालिकाभित्र दलित तथा गैरदलित समुदायबीच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण बनेकाले अन्तरजातीय विवाह गरेका जोडीलाई नगद र खादा ओढाएर सम्मान गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
‘अहिले पनि पालिका मात्र नभई जिल्लाभरि जातीय भेदभाव तथा छुवाछुत हट्न सकेको छैन । बेलाबेलामा विभिन्न किसिमका समस्या देखिरहने गरेका छन्,' उनले भने, 'विभिन्न निकायले छुवाछुत तथा जातीय भेदभाव अन्त्यका लागि चेतनामूलक कार्यक्रम गर्दै आए पनि पूर्ण रुपमा प्रभावकारी हुन सकेको छैन । अन्तरजातीय विवाह गरेका जोडीले सामाजिक चेतना फैलाउन सहयोग गरेका छन् ।’
समाजमा जातीय छुवाछुत अहिले पनि यथावत रहेका बेला अन्तरजातीय विवाह गरेर छुवाछुत अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले जोडीलाई सम्मान गरेको गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाइ प्रमुख हीरा वलीले बताइन् । उनले भनिन, ‘विगतमा अन्तरजातीय विवाह गरेका जोडीलाई परिवारले घरभित्र पस्न दिँदैनथे । समाजले अपहेलना गर्थ्यो । जसका कारण विवाहित समाजबाट टाढा गएर बस्न बाध्य हुन्थे,' उनले भनिन्, 'अन्तरजातीय विवाहले परिवारमा मात्र नभई समाजमा केही परिवर्तन आएको छ ।’ एकदुई जनाले मात्र जातीय भेदभाव तथा छुवाछुत अन्त्य सम्भव नभएकाले सबै लाग्न उनले आग्रह गरिन् ।
