कालीकोट — सान्नीत्रिवेणी गाउँपालिकाका शिक्षक-कर्मचारीले छोराछोरी सरकारी विद्यालय पढाउने प्रतिबद्धता जनाएका छन् ।शैक्षिक सुधारका लागि गाउँपालिकाले सरोकारवालासँग गरेको छलफलमा यस्तो प्रतिबद्धता आएको हो ।
सार्वजनिक शिक्षामा अपनत्व र रेखदेख नपुगेको ठहर गर्दै पहिलो चरणमा गाउँपालिकाका सबै शिक्षक कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता गरेकाे गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । 'सेवा सुविधा र तलब सरकारी चाहिने, शिक्षा निजी रोज्ने प्रवृत्ति घातक छ,' उनले भने, 'गाउँपालिकाले शिक्षामा सुधार गर्न सबैका छोराछोरी आफ्नो घर ठेगानाको सरकारी विद्यालयमा भर्ना गर्नैपर्ने नियम बनाउनुपर्छ ।'
पालिका अध्यक्षको प्रस्तावमाथि सरोकारवालाले अभिभावकको चाहनाअनुसार अङ्ग्रेजी माध्यम सुरु गरेर सबैका छोराछोरी सरकारी विद्यालयमा पढाउने प्रतिबद्धता गरेको शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत मदन शाहीले बताए । उनका अनुसार पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक लगायतका सरोकारवालाले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक विद्यार्थी नियमिततामा जोड दिए ।
२०८१ को वार्षिक परीक्षाको समिक्षा, विद्यालय मर्ज तथा कक्षा घटाउने, शिक्षकको काज सरुवा, दरबन्दी मिलान, शैक्षिक सुशासन लगायतका विषयमा छलफल गरिएको शिक्षा अधिकृत शाहीले जानकारी दिए । 'कक्षा ८ र १० को नतिजा निराशाजनक छ । त्यसैको सुधारका लागि छलफल भएको छ,' उनले भने ।
राज्यकोषबाट सुविधा लिनेले आफ्ना छोराछोरी बोर्डिङमा पढाउने प्रवृत्तिले सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको निष्कर्ष निकाल्दै कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय भएको उनले बताए ।
पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएकाले सुधारका लागि विगतको ससीक्षासहित आगामी कार्ययोजना निर्माण गर्न कार्यक्रम फलदायी हुने गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताइन् ।
सान्नीत्रिवेणीको शैक्षिक सुधारका लागि विद्यालयमा हुने दलीय राजनीति अन्त्य हुनुपर्ने, तल्लो तहका कक्षामा विशेष लगानी गर्नुपर्ने, शिक्षक दरबन्दी मिलान, भौतिक पूर्वाधारसहित अभिभावक शिक्षामा जोड दिनुपर्ने सुझाव आएको सशक्त बालिका परियोजनाका अनुगमन अधिकृत प्रेम चौलागाईले बताए ।
सान्नी त्रिवेणीमा ०७४ मा शिक्षक नियमितताका लागि विद्यालयमा जडान गरिएका बायोमेट्रिक हाजिरी सबै बिग्रिएकाले नयाँ जडान गरिनुपर्ने पञ्चदेवल माविकी प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन् ।
