मनसुन भित्रिइसक्यो, अझै बनेनन् पहिरो र अग्निपीडितका घर

जेष्ठ १९, २०८२

तुलाराम पाण्डे

Monsoon has set in, the houses of landslide and fire victims have not yet been built

(रास्कोट, कालिकोट) — पहिरोले घर बगाएको तीन वर्ष पुग्न लाग्दा पनि तिलागुफा-४ राँचुलीका टोपबहादुर शाहीको घर अझै बन्न सकेको छैन । सरकारले घर बनाइदिने आशामा रहेका टोपबहादुर दुई वर्षसम्म गाउँमै बसे । तर, कुनै छाँटकाँट नदेखेपछि हाल ४ छोरोछोरी सुर्खेतमा छाडेर ज्याला मजदुरीका लागि भारतको बेंग्लुरु छन् ।

'ज्यालामजदुरी गरेर सुर्खेतमा रहेका छोराछोरीलाई खर्च पठाउँछु । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका उनले कान्तिपुरसँग भने, 'सरकारले ढाँट्यो मात्र ।' कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतले राँचुली पुगेर पीडितका घर प्रदेश सरकारले बनाइदिने आश्वासन दिएको सुनाए । 

पहिरोले घर बगेपछि राँचुलीकै ६३ वर्षीया काली शाहीको परिवार छिमेकी धनरूप थापाको घरमा बस्न थालेको ३ वर्ष पुग्न लाग्यो । उनको घर बन्ने अझै सुरसार छैन । टोपबहादुर र कालीको जस्तै अवस्था राँचुलीकी रत्ना शाहीको छ । 'बुढेसकालमा अर्काको गोठमा बसेकी छु,' उनले भनिन्, 'दुई छोरा पनि मसँग बस्दैनन् ।'

०७९ को पहिरोले घर भत्किएका जिल्लाका अधिकांश पीडितको घर बनेको छैन । घर बनाउने कार्यविधिअनुसार स्थानीय तहले काम नगर्दा पीडित मर्कामा परेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ नारायणप्रसाद भट्टराईले बताए । मापदण्डअनुसार स्थानीय तहले लगत राख्ने सिफारिस गर्ने र आफ्नो तर्फबाट लागत साझेदारी गर्नुपर्ने रकम पनि उपलब्ध नगराएको गुनासो छ । उनले भने, 'जिल्लाभरको अवस्थाबारे सोधीखोजी गर्दैछौं ।' 

त्यस्तै, गत वर्षको कात्तिक पहिलो साता आगालागीबाट क्षतिग्रस्त तिलागुफा-६ जुबिथा गाउँका ३ घरका २६ परिवार अझै अर्काको घरगोठमा बस्न बाध्य छन् । सरकार र संघसंस्थाले त्यति बेला केही खाद्यान्न र लत्ताकपडा दिएका थिए ।

स्थानीय मनराज शाहीले भने घर बनाउने सुरसार नै गरेका छैनन् । सरकारबाट कुनै सहयोग नपाएपछि आफूले सरसापटी गरेर घर बनाउन सुरु गरेको उनको भनाइ छ ।

Monsoon has set in, the houses of landslide and fire victims have not yet been built

०७७ साउन १२ गते रातिको पहिरोले पति जयबहादुर शाहीसहित ५ जना आफन्त गुमाएकी रास्कोट-१ की ४९ वर्षीया वृहस्पति शाहीका आँखा नरसाएको दिन छैन । पहिरोमा उनका पतिसहित दुई छोरा, एक छोरी र पाहुना आएकी भदैनी बेपत्ता भएका थिए । 

भारतको मुम्बईमा ज्यालामजदुरी गर्न गएका दुई छोरा भेट्न र ग्यास्ट्रिकको उपचार गर्न माघमा त्यता गएकी उनी पतिसहित ३ छोराछोरी पहिरोमा बेपत्ता भएपछि घर फर्किइन् । पहिरोमा आफन्त गुमाएको पीडासँगै गाँस र बासको समस्याले उनी थलिएकी छन् । 'न खाने गाँस छ, न बस्ने बास,' उनी भन्छिन्, 'फेरि वर्षा सुरु भयो । बस्नकै चिन्ता हुन थालिसक्यो ।'

उनकी  जेठी बुहारी गीताको माइती यही गाउँमा भएकाले उनीहरुका माइतीले दिएको जग्गामा उनी टिनको छाना बनाएर अस्थायी रूपमा बसिरहेकी छन् । चिसो भुइँ र टिनको छाप्रोमा हिउँद कटाउन उनको परिवारलाई कठिन छ । कर्णाली प्रदेश सरकाले बस्ने घर बनाइदिने आश्वासन दिए पनि कुनै सहयोग नगरेको उनले गुनासो पोखिन् । कर्णाली सरकारले पहिरोमा ज्यान गुमाएका नागरिकका लागि बनाइदिएको विपद् बिमा बापतको दुई लाख रुपैयाँ अझै पाएका छैनन् । 

Monsoon has set in, the houses of landslide and fire victims have not yet been built

पहिरोले घरबास गुमाएका यहाँका बासिन्दाको चिसोले बिचल्ली भएको छ । पहिरोले घर बगाएपछि पहिरोपीडित परिवार अरुको गोठ, टिनको छाप्रोमा बस्दै आएका छन् । 'आजसम्म त जेनतेन दिन कटे,' पलाता-४ कहरदेवका कपुरे दमाईले भने, 'बर्खा लाग्यो कि पहिरोकै डर हुन्छ ।'

५१ गाउँबस्ती जोखिममा 

कालीकोटको पहिरोले यहाँका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन् । सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका ५ सय घर पहिरोको जोखिममा छन् ।

०७९ मा सबैभन्दा बढी तिलागुफाका नागरिकले ज्यान गुमाएका थिए । मलामी गएका राँचुलीका १३ जना पहिरोमा परेर बेपत्ता भए । टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्ला लगायतका बस्ती पहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । 

यहाँको रास्कोटका ११, सान्नीत्रिवेणीका ७, खाँडाचक्रका ७, शुभकालिकाका ३, महाबैका ५, पचालझरना र पलाताका ३/३ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ । ती बस्तीका नागरिकहरू बेलुकी पानी परेका बेला घरमा बस्न सक्ने अवस्था छैन । कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जाने गर्छन् । 

यहाँको जिल्ला विपद् व्यवस्थापन समितिले कालीकोटमा बाढी, पहिरो, खडेरी, भीरबाट ढुंगा खस्ने र चट्याङलाई प्रमुख विपद्को रुपमा लिएको सहायक प्रजिअ जनक शर्माले बताए । 'विपद् कतिखेर आउँछ भन्ने त थाहा हुँदैन,' उनले भने, 'पूर्वतयारी गर्नसके क्षति कम गर्न सकिन्थ्यो ।' खोज तथा उद्धार जनशक्ति र उपकरण, स्रोत साधन नहुँदा तत्काल राहत र उद्धारका काम गर्न कठिनाइ हुने गरेको उनले सुनाए । 

मनसुनजन्य विपद्‍बाट बच्न यहाँको जिल्ला प्रशासनले विपद् पूर्वतयारी तथा प्रतिकाकार्य योजना निर्माण गरेर प्रकाशन गरे पनि स्थानीय तहमा यस्ता योजना बनेका छैनन् । कतिपय स्थानीय तहमा विपद् कोष भए पनि परिचालनबारे स्पष्ट मापदण्ड नहुँदा रकम खर्च गर्न पनि कठिनाइ छ ।

खोज तथा उद्धार अभ्यास

कालीकोटमा विपद्‌बाट बच्न खोज तथा उद्धार नमुना अभ्यास गरिएको छ ।

Monsoon has set in, the houses of landslide and fire victims have not yet been built

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा रेडक्रस, किर्डाक नेपाल, हुरेन्डेक, आएएनएफ, सहासलगायत विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाले सदरमुकाम मान्मसहित नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोटलगायतका स्थानीय तहमा नमुना अभ्यास गरेका हुन् ।

रेडक्रस, सशस्त्र प्रहरी र नेपाली सेनाले नमुना अभ्यासको सहजीकरण गरेको जिल्ला विपद् व्यस्थापन समितिका सदस्य प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully