जुम्लामा वडाध्यक्षमाथि चक्कु प्रहार

जेष्ठ १९, २०८२

डीबी बुढा

Knife attack on ward president in Jumla

जुम्ला — जुम्लाको तिला गाउँपालिका-५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । घाइते वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

तिला-४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा आफूमाथि चक्कु प्रहार भएको वडाध्यक्ष शाहीले बताए । ‘घर फर्किंदै थियौं, एक्कासि चक्कु प्रहार भयो,’ उनले भने, 'उनीहरुसँग कुनै प्रकारको विवाद थिएन ।  अब कानुनी प्रक्रिया अघि बढाउनुको विकल्प रहेन । ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारी भइरहेको छ ।’ वडाध्यक्ष शाहीको शरीरका विभिन्न भागमा १७ स्थानमा टाँका लगाइएको छ । 

तिला-३ का लक्की बुढा, तिला-४ का सुधन शाही र सुशील शाहीले चक्कु प्रहार गरेको उनको भनाइ छ ।

उनीसँगै रहेका तिला-४ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि उनीहरुले ढुंगा प्रहार गरेका थिए । उनको टाउकामा हेलमेट भएकोले चोटपटक लागेन । 'उनीहरुको नियत ज्यान मार्ने उद्देश्यकै रहेको देखियो,' धनबहादुरले भने ।

चक्कु प्रहार गर्ने युवाविरुद्ध निवेदन परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले बताए ।

घाइते वडाध्यक्ष भेट्न गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा अस्पताल पुगेका थिए । उनीहरुले दोषीउपर कडा कारबाहीको माग गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully