कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान

जेष्ठ १५, २०८२

तृप्ति शाही

The economic growth rate of Karnali is estimated to be 4.74 percent

वीरेन्द्रनगर — कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्य अनुसार ४.७४ प्रतिशत रहने अनुमान गरिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौँले सार्वजनिक गरेको कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमानअनुसार कर्णालीको अर्थतन्त्रको आकार, अर्थात् कुल गार्हस्थ्य उत्पादन, २ खर्ब ५५ अर्ब ५९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । यो देशको सबैभन्दा सानो आकारको अर्थतन्त्र हो । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्यांक समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा कर्णालीको वृद्धिदर केही माथि रहेको जानकारी दिए । राष्ट्रिय वृद्धिदर ४.६१ प्रतिशत रहेकोमा कर्णालीको ४.७४ प्रतिशत रहेको उनले बताए । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दो अवस्थामा रहेकाले अवस्था सन्तोषजनक रहेको उनले बताए । ‘७ वटै प्रदेशमध्ये कर्णालीको अर्थतन्त्रको आकार सबैभन्दा सानो छ,’ उनले भने ।

कर्णालीको विगत तीन वर्षको अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २ खर्ब ३० अर्ब रुपैयाँ रहेको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८०/०८१ मा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ मा २ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जानकारी पनि आचार्यले दिएका छन् ।

देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.२ प्रतिशत रहेको छ । कर्णालीमा सेवा क्षेत्रको सबैभन्दा धेरै योगदान रहेको छ । सेवा क्षेत्रको योगदान ५८.९ प्रतिशत, प्राथमिक क्षेत्रको ३१.७ प्रतिशत र द्वितीय क्षेत्रको ९.४ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा आवास तथा भोजन, थोक तथा खुद्रा व्यापार, सूचना तथा सञ्चार, घरजग्गा कारोबार र अन्य सेवा समेटिएका छन् ।

प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन् क्षेत्र पर्दछन् भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत्, ग्यास, पानी, निर्माण लगायतका क्षेत्र पर्दछन् । कर्णालीमा ठूला उद्योग तथा कलकारखाना नभएकाले सेवा क्षेत्र र कृषि, वन तथा खानी–खनिज क्षेत्रको योगदान बढी रहेको छ ।

यसैगरी, कुल गार्हस्थ्य उत्पादनको प्रतिव्यक्ति आयमा कर्णालीको १ हजार ८९ अमेरिकी डलर पुगेको छ । प्रतिव्यक्ति आय पनि विगत ३ वर्षको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्ष १ हजार ७६ डलर र त्यसअघि १ हजार ३० डलर थियो ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully