वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले सुरक्षाकर्मीलाई विपद् साहसिक पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा सरकारले कर्णालीका विभिन्न जिल्लामा खटेर विपदका घटनामा खोज, उद्धार र पुनर्स्थापना कार्यमा खटिएका ५ जना सुरक्षाकर्मीलाई पुरस्कार दिइएको हो ।
नेपाल प्रहरीका दुई जना, नेपाली सेनाका दुई जना र सशस्त्र प्रहरीका एक जनालाई जनही ३० हजार नगद, खादा तथा प्रमाणपत्र दिएर सम्मान गरिएको हो ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले २०८० को कात्तिक १७ गते जाजरकोट भूकम्पमा पुरिएका, घाइते भएका, मृत लासहरूको खोज, उद्धार र राहतमा उल्लेखनीय योगदान दिएकामा साहसिक पुरस्कार दिइएको हो । यस्तै प्रहरी हबल्दार प्रेमबहादुर चुनारालाई २०८१ को साउन ११ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा खम्ब बुढाको घर भत्किँदा उनकी १४ वर्षीया छोरी सुशीला बुढालाई च्यापिएको अवस्थामा सकुशल उद्धार गरेकामा साहसिक पुरुस्कार दिइएको छ ।
नेपाली सेनाका प्यूठ विजय कोइरालालाई पनि विपद् साहसिक पुरस्कार दिइएको छ । २०८० चैत २५ गते डोल्पाको ठूलीभेरी नगरपालिका–४ भवानी सामुदायिक वनमा आगलागी नियन्त्रण गर्दा गर्दै उनी आफैं घाइते भएका थिए । कोइराला हालसम्म उपचारमा छन् । यस्तै नेपाली सेनाकै प्यूठ केवल कटुवाललाई २०८० कात्तिक १७ गते जाजरकोट भूकम्पका कारणले जोखिमपूर्ण चट्टान व्यवस्थापनको ‘अपरेसन सिमपानी रक्षा’ कार्यमा बाह्य धनजनको क्षति हुन नदिई आफैं घाइते भएका कारणले साहसिक पुरस्कार दिइएको छ ।
सशस्त्र प्रहरीका सहायक हबल्दार धनबहादुर पुनलाई पनि यो पुरस्कार दिइएको छ । २०८१ को पुस ३ मा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनास्थित सिटी हल नजिकै रहेको पुलबाट भेरी नदीमा हाम फालेका व्यक्तिलाई सकुशल उद्धार गरेका उनलाई पुरस्कार दिइएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले त्यसका लागि जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई सुदृढ र परिपक्व बनाउने बताए ।
