यार्सा संकलन गर्न गएका १९ वर्षीय युवकको मृत्यु

जेष्ठ १५, २०८२

रामचन्द्र न्यौपाने

Death of a 19-year-old youth who went to collect Yarsa

डोल्पा — डोल्पाको काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटनमा यार्सागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको छ। जाजरकोटको नलगार्ड नगरपालिका-८ बस्ने  १९ वर्षीय युवक धनलाल बिकको नावरपानी यार्सा पाटनमा लेक लागेर मृत्यु भएको हो।

मृतक बिक एक साताअघि बुवा हरिबहादुर बिकसँग यार्सागुम्बा खोज्न डोल्पा पुगेका थिए। प्रहरीले मृतक बिकको शव बोकेरै अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाले जानकारी दिए ।

यसअघि जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिसाँघुका भीमबहादुर बोहोराको डोल्पाकै जगदुल्ला पाटनमा लेक लागेर मृत्यु भएको थियो । बोहोरालाई लेक लागेपछि घरतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिन अघि मात्र ठुलीभेरी नगरपालिकामा पर्ने साइकुमारी पाटनमा एक जना र शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने सागर यार्सा पाटनमा एक जना यार्सागुम्बा संकलकको मृत्यु भएको जानकारी स्थानीयबाट आए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन ।

यार्सा पाटन उच्च हिमाली क्षेत्रमा पर्नुका साथै त्यहाँ फोनले समेत काम नगर्ने र सबै ठाउँमा प्रहरी जान नसक्ने भएकाले यार्सा संकलनका क्रममा भएका कतिपय घटनाहरू प्रहरीसम्म नपुग्ने गरेको बताइएको छ । 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully