सल्यान — पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग चार घण्टापछि खुलाइएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।
राप्ती राजमार्ग अवरुद्धका कारण रोकिएका दर्जनौँ गाडी अहिले गन्तव्यतिर निस्केका छन् । सडक स्तरवृद्धि गर्दै आएको निर्माण कम्पनी र सम्बन्धित निकायको एक्स्काभेटर र डोजरले पहिरो पन्छाएपछि राप्ती राजमार्ग सुरु भएको र दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
एक्स्काभेटरले पहिरो पन्छाएपनि सडक माथिबाट ढुंगामाटो खस्ने सम्भावना भएकाले उनले गाडी व्यवसायीलाई सजग भएर गाडी चलाउन र यात्रुलाई पनि आउजाउ गर्दा सजग रहन उनले आग्रह गरे । हिउँद र वर्षात दुवै समयमा बेलाबेलामा पहिरो झरिरहने भएकाले राप्ती राजमार्गको चोरखोला आसपासका क्षेत्रमा यात्रुले बाह्रै महिना सास्ती भोग्नु परेको उनको भनाइ छ ।
