सल्यान — मंगलबार रातिको अविरल वर्षातपछि पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग रातिदेखि नै अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ गाडी सडकमा रोकिएका छन् भने यात्रीहरू समेत समस्यामा परेका छन् । कतिपय स्थानमा नजिकका यात्री हिँडेर आउजाउ गर्न बाध्य छन् । गए राति परेको पानीले चोरखोलामा पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
सडक स्तरवृद्धिको काम गरिरहेको निर्माण कम्पनी र सम्बन्धित निकायको एक्स्काभेटरले अहिले पहिरो हटाउने काम गरिरहेको उनले जानकारी गराए । सडक माथिबाट ठूलो पहिरो खसेकाले हटाउन अझै दुई घन्टा बढी समय लाग्ने उनको भनाइ छ ।
राप्ती राजमार्गको चोरखोलामा वर्षातको समयमा मात्र नभइ हिउँद, गर्मीको समयमा पनि पहिरो झर्ने गर्दा यात्रीले सास्ती भोग्दै आएको र जसले गर्दा विकास निर्माणको कामसमेत प्रभावित भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए ।
पहिरो हटाउन समय लाग्ने भएकाले साना सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सडक माथिबाट सानातिना ढुंगा खसिरहेकाले यताउता नगर्न उनले आग्रह गरेका छन् ।
