विपद् व्यवस्थापन कोषका लागि ७ करोड बढी उपलब्ध गराउने कर्णाली सरकारको निर्णय 

जेष्ठ १४, २०८२

तृप्ति शाही

Karnali government's decision to provide 70 million more for the disaster management fund

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ । मंगलबार बसेको बैठकले विभिन्न ५ वटा निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोषको लागि ७ करोड ९२ लाख ४० हजार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बिहान पत्रकार सम्मेलन गर्दै शाहले सरकारले मनसुन तथा आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि तयार गरिएका कार्यविधिअनुसार कर्णाली प्रदेश सरकारको ३० प्रतिशत लागत साझेदारीको रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

यसका लागि आवश्यक पर्ने ७ करोड ९२ लाख ४० हजार रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरूको विपद् व्यवस्थापन कोषमा विनियोजन गरिनेछ ।

कर्णालीका ६ वटा जिल्लाले रकम माग गरेका थिए । यिनै जिल्लालाई यो रकम पठाइनेछ । कालिकोट, जुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोट र मुगु जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापन कोषमा रकम जानेछ ।

यस्तै बैठकले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाको अभिलेख र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रशासन तथा विधेयक समितिमा पठाउँने निर्णय गरेको छ ।

यस्तै आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै उच्चमुल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय सुर्खेत र कर्णाली करिडोर अन्तर्गत जुम्ला र भेरी करिडोर अन्तर्गत जाजरकोट जिल्लामा करिडोर कार्यालयको स्थापना र कार्यालयहरूको आर्थिक वर्ष २०८१/०८२ को लागि तयार गरिएको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

यस्तै बैठकले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन सहितको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शाहले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully