उपल्लो डोल्पाबासी राष्ट्रिय परिचय पत्र लिनबाट वञ्चित

जेष्ठ १२, २०८२

रामचन्द्र न्यौपाने

Upper Dolpabasi are excluded from getting national identity card

डोल्पा — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन वटा स्थानीय तहका बासिन्दा राष्ट्रिय परिचय पत्रबाट लिनबाट वञ्चित भएका छन् ।

आठ वटा स्थानीय तह रहेको डोल्पाका अन्य स्थानीय तहमा घुम्ती टोली नै खटाएर राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिए पनि उपल्लो डोल्पामा अझै वितरण हुन सकेको छैन । नेपाल टेलिकमको इन्टरनेट सेवासहितको सुविधा नहुँदा उपल्लो डोल्पाका नागरिक राष्ट्रिय परिचय लिनबाट वञ्चित भएका हुन् ।

‘शे–फोक्सुन्डो गाउँपालिकामा धेरैमा दश प्रतिशत नागरिकले मात्र राष्ट्रिय परिचय पत्र बनाएका होलान्, बाँकीले बनाएका छैनन्, ’ वडा नम्बर–१ निजालका स्थानीय पेम्मा छिरिङ गुरुङले भने, ‘घरैपिच्छे वृद्धवृद्धा छन्, उहाँहरूलाई सदरमुकाम आएर फर्किनै दश/बाह्र दिन लाग्छ, अब राज्यले नै कसरी हुन्छ सम्बन्धित गाउँमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाउनु पर्छ ।’ सदरमुकाम आउन जान समस्या भएर शे–फोक्सुन्डो गाउँपालिकाका कतिपय नागरिकले नागरिकतासमेत नलिएको उनले गुनासो गरे । राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधामा राष्ट्रिय परिचय पत्र अनिवार्य मात्र गरेर नहुने र त्यसका लागि नागरिकलाई सम्बन्धित पालिकामै सहज रूपमा बनाउने व्यवस्था पनि मिलाउनु पर्ने उनको धारणा छ ।

उपल्लो डोल्पाको तीन वटा पालिका गरेर नौ हजारको हाराहारीमा जनसंख्या रहेको छ । उपल्लो डोल्पामा डोल्पोबुद्ध,शे–फोक्सुन्डो र छार्काताङ्सोङ् गाउँपालिका रहेका छन् । 

छार्काताङ्सोङ् गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङले नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा नहुँदा छार्काताङ्साेङ्बासी राष्ट्रिय परिचय पत्र लिनबाट वञ्चित भएको बताए । उनले भने, ‘जिल्ला प्रशासनसँग समन्वय भइरहेको छ, उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले अफलाइन विधिबाट पनि सम्भव नदेखिने प्रशासन आफैं बनाउँछ, अब यस विषयमा राज्यले नै केही कदम चाल्नु पर्छ ।’

‘हालसम्म डोल्पाका दुई वटा स्थानीय तहमा राष्ट्रिय परिचय पत्र वितरणको काम सकिएको छ, त्रिपुरासुन्दरी नगरपालिकामा वितरण भइरहको छ, ’ प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने, ‘उपल्लो डोल्पामा नेपाल टेलिकमको इन्टरनेट सेवा नहुँदा राष्ट्रिय परिचय पत्र वितरणमा समस्या भएको छ, हामीले चाहेर पनि टोली पठाउन सकेका छैनौँ ।’

प्रजिअ महतका अनुसार उपल्लो डोल्पाबाट सदरमुकाम आउनै चार पाँच दिन लाग्छ । उनले भने, ‘वृद्धवृद्धालाई त झनै समस्या छ, केही बाहेक उपल्लो डोल्पाका धेरैजसो नागरिकले राष्ट्रिय परिचय पत्र लिएका छैनन् ।’

सामाजिक सुरक्षा भत्ता, बैंक खाता लगायतका सरकारी सेवा सुविधा पाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि समस्यामा परेको उपल्लो डोल्पाबासीको गुनासो छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग अन्तर्गत राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालले डोल्पाका अन्य पालिकाहरूमा विभागले पठाएको जनशक्तिको नेतृत्वमा राष्ट्रिय परिचय पत्र वितरण कार्य धमाधम भइरहेकाले अब उपल्लो डोल्पा पनि चाँडै वितरणको व्यवस्था मिलाउने बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully