जातीय विभेद गरेको आरोपमा पत्रकार शेरबहादुर थापा पक्राउ

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Journalist Sher Bahadur Thapa arrested on charges of caste discrimination

सुर्खेत — जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा पत्रकार शेरबहादुर थापा पक्राउ परेका छन्। दैलेखको आठबिस नगरपालिका–६ घर भई अहिले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतमा पत्रकारिता गर्दै आएका ३९ वर्षीय थापालाई जिल्ला प्रहरी कार्यालयले सोमबार पक्राउ गरेको हो ।

आरोपित थापाविरुद्ध गत बैशाख ११ मा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुडथापाले जानकारी दिए। उनका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।

पत्रकार थापाले गत वैशाख १० गते साँझ बलबहादुर थापा नामक फेसबुक अकाउन्टमा ‘पिठिउ पछि कुरा काट्ने काट्दै गर तर आफैँ गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान हैन तिमीहरूलाई पुज्छु’ भन्ने स्टाटस लेखेका थिए। आरोपित थापाले दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘डुमलाई नपाल्नु’ भन्ने टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीलाई लिएर उनीविरुद्ध जातीय विभेदको उजुरी परेको थियो । जातीय विभेद विरुद्धको उजुरी परे लगत्तै आरोपित थापा फरार रहेका थिए । थापा नेकपा एमालेनिकट प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत हुन्।

कान्तिपुर

Link copied successfully