कर्णालीमा राज्यको लगानी बढाउनुपर्छ : एमाले नेता ज्ञवाली

जेष्ठ ११, २०८२

तुलाराम पाण्डे

State investment should be increased in Karnali: UML leader Gyawali

कालिकोट — एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा सरकारले लगानी बढाउनुपर्ने बताएका छन्। पार्टीको प्रशिक्षक प्रशिक्षणका लागि आइतबार कालीकोटको मान्म आइपुगेका ज्ञवालीले कर्णालीको मुहार फेर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताएका हुन्।

कर्णाली विकासको मेरुदण्डका रूपमा रहेको कर्णाली राजमार्गको स्तरोन्नति, गुणस्तरीय शिक्षा, खानेपानी, सिंचाइ, पर्यटन प्रर्वद्धनलगायतका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले यहाँका संचारकर्मीको जिज्ञासामा सरकारले कर्णालीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने समयमा ज्ञवालीको सो प्रतिक्रया आएको हो ।

उनले कर्णालीको विकास लोकतन्त्रपछि केही मात्रामा भए पनि समृद्धिसँग जोड्न राज्यले लगानी बढाउन आवश्यक रहेको बताए। 'अन्य प्रदेशको तुलनामा कर्णालीलाई संघीय सरकारले धेरै बजेट विनियोजन गर्नुपर्ने देखिन्छ' उनले भने, 'आत्मनिर्भर अर्थतन्त्र र स्वरोजगारलाई जोड्ने खालका मेगा परियोजना बनाउन छलफल गरिनु आवश्यक छ ।' कर्णालीमा समृद्धिको थुप्रै सम्भावना रहेकाे तर काम हुन नसकेको स्थलगत भ्रमणका क्रममा आफूले अनुभूत गरेको उनले बताए ।

उपमहासचिव ज्ञवालीले नकारात्मक भाष्यले देश र कर्णालीको विकास नहुने बताए। राज्यले कनिका छराई विकास योजना चलाएको पनि उनको आरोप थियो ।

कर्णालीका मुगु, जुम्ला हुँदै कालिकोट आइपुगेका नेता ज्ञवालीसहित संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कर्णाली इन्चार्ज गोरख बोगटीलगायतका नेताले पार्टी नेता, कार्यकर्ता र जनवर्गीय संगठनका अगुवालाई प्रशिक्षण दिएको एमाले जिल्ला इन्चार्ज नगेन्द्र शाहीले बताए।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully