विपन्न तथा टुहुरा बालबालिकालाई विद्यालयमा छात्रावास

जेष्ठ ११, २०८२

विप्लव महर्जन

Hostels in schools for underprivileged and orphaned children

सल्यान — जिल्लाको शारदा नगरपालिका-५ तल्नो मार्केस्थित जनकल्याण आधारभूत विद्यालयमा छात्रावास सञ्चालन गरिएको छ । आर्थिक अभावका कारण विद्यालय जान नसकेका विपन्न तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहजताका लागि विद्यालयले  छात्रावास सञ्चालन गरेको हो । 

घरबाट विद्यालय जाने र बेलुकी घर फर्कने समय बच्ने भएकाले त्यो समयमा छात्रावासमा बालबालिकाले थप केही समय पढ्ने अवसर पाएका छन् । ३० विद्यार्थीलाई लक्षित गर्दै स्थानीय, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा बुद्धिजीवीको सहयोगमा छात्रावास सञ्चालन गरिएको प्रधानाध्यापक डिल्लीबहादुर भण्डारीले बताए ।

आमाबुबा नभएका, अरुको आश्रयमा बस्दै आएका बालबालिका र आर्थिक रुपमा निकै कमजोर बालबालिकालाई छात्रावासमा राखिएको उनले जानकारी गराए । उनका अनुसार कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये अहिले २५ जना छात्रावासमा बस्दै आएका छन् । 

छात्रावासका लागि स्थानीय गंगाराम रोकाले न्यून भाडा लिएर घर उपलब्ध गराएको विद्यालयका शिक्षक कृष्ण वलीले बताए । दुईदेखि अढाइ घन्टा हिँडेर विद्यालय आउने बालबालिकालाई अहिले धेरै सहज भएको उनको भनाइ छ । ‘व्यवस्थापन समिति सदस्य चन्द्रा रेउलेले तीन महिनाका लागि खाना पकाउने, बालबालिकाको सरसफाई गर्ने निशुल्क जिम्मेवारी लिएकी छिन्,’ उनले भने, ‘दुई शिक्षकले छात्रावासमै बिहान र बेलुकी अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका छन् । यसले बालबालिकाको पढाईमा थप सुधार आउने देखिएको छ ।’

आर्थिक अभावमा पढ्न नसकेका र लामो समय हिँडनुपर्ने बाध्यताले नियमित विद्यालय नजाने बालबालिकाकाका लागि अहिले धेरै सजिलो भएको व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकीले बताए । 

शारदा नगरपालिका-५ का वडाध्यक्ष प्रदीपकुमार शाहीले विद्यालयले विपन्न, टुहुरा तथा सहाराविहीन बालबालिकाका लागि धेरै राम्रो काम गरेको बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully