जुम्लामा पर्‍यो आधा फिट असिना, बालीनाली सखाप

जेष्ठ १०, २०८२

डीबी बुढा

Half a foot of hail fell in Jumla, destroying crops

जुम्ला — जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ । असिनाले बालीनालीमा क्षति पुर्‍याएको हो ।

शुक्रबार बेलुकी ४ बजेदेखि ५ बजे सम्म एक घण्टा निरन्तर असिना परेको थियो । स्थानीय उमेश रावतले असिनाले बालीनालीमा क्षति पुगेको बताए । 

उनका अनुसार भित्र्याउन तयारी अवस्थामा रहेको जौं सबै खेतमै झारेको छ । यस्तै बारीमा लगाएको गहुँबालीमा क्षति पुगेको छ । सिमी,आलु,मकै, फापर लगायतको बाली नष्ट पारेको छ । 

फलफुलमा स्याउ, आरु, ओखरका चिचिलासमेत झारेको छ । उमेशले भने, ‘यो विर्षको हिउँदमा यति पनि हिउँ परेको थिएन । अहिले असिना जति पर्‍यो ।’ पहिलोपटक यति धेरै मात्रामा असिना परेको स्थानीयको भनाइ छ ।

Half a foot of hail fell in Jumla, destroying crops

‘भित्र्याउनेबेलाको बाली सबै सखाप भयो, अब बर्खा कसरी टार्नु’ उनले भने, ‘स्थानीय सरकार र प्रशासनले राहत दिनुपर्छ ।’असिनाले सबै बाली नष्ट गरेपछि गाउँमा भेला बोलाइएको छ । भेलाले तत्काल अनुगमनको लागि प्रहरी चौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी गरिरहेको छ ।

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घर प्रभावित बनेका छन् । वडाध्यक्ष धनबहादुर रावतले तत्काल असिनाले क्षति पुर्‍याएको गाउँमा पुगेर अनुगमन गर्ने बताए । 

उनले भने, ‘असिनाले सबै बालीनाली सखाप पारिसक्यो । अब उनीहरुलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ ।’ अहिले स्याउ, आरु र ओखरका हाँगा नै भाँचिदिएको छ ।

हावाहुरीसँगै असिनापानी परेकोले त्यहाँको जनजीवन निकै प्रभावित बनेको थियो । यसअघि जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा असिना परेर बालीनालीमा क्षति पुर्‍याएको थियो । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully