अटो दुर्घटनामा चालकको मृत्यु

जेष्ठ १०, २०८२

डीबी बुढा

Driver dies in auto accident

जुम्ला — जुम्लामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका ४ भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटनामा परेर ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको हो ।

शुक्रबार तातोपानी गाउँपालिका १ राँका गाउँबाट तातोपानी ७ सर्मीगाउँ तिर धानको बेर्ना लिएर जानेक्रममा अटो दुर्घटनामा गरेको प्रहरीचौकी कुडारीका हवलदार बैजु महतोले जानकारी दिए ।

उनका अनुसार अटो सडक देखि ६० मिटर तल खसेको छ । दुर्घटनामा परेर चालक गम्भीर घाइते थिए । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्न ल्याइएको थियो । 

उपचारका क्रममा बिहान ५ बजेर ४० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अटो दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully