सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–११ पाँचहारेस्थित नवज्योति प्राथमिक विद्यालयको हावाहुरीले दुई कोठे भवनको कर्कटपाताको छाना उडाएको गत चैत्र २७ गतेको हावाहुरीले छाना उडाएको झन्डै डेढ महिना हुन थाल्यो । उक्त भवनको छाना अहिलेसम्म हाल्न सकेको छैन । हुरीले फालेको छाना हाल्न नसक्दा बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।
सम्बन्धित निकायमा माग गर्दा पनि अहिलेसम्म छानो हाल्न नसक्दा पुरानो भवनमा एउटै कोठामा दुई कक्षाका बालबालिका राखेर पढाउनु पर्दा पठनपाठन प्रभावित भएको हो ।
छानो हाल्न नसक्दा कक्षा ५ सम्म सञ्चालित विद्यालयको कक्षा ४ र ५ , ३ र २ , १ र शिशुका बालबालिका दुई दशक अघि तत्कालीन शिक्षा कार्यालयले सल्यानले निर्माण गरेको पुरानो भवनको एउटा/एउटा कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर रानाले बताए । विद्यालयमा कक्षा ५ सम्म ५७ जना विद्यार्थी रहेका र दुई कक्षाका विद्यार्थीलाई एउटैमा राखेर पढाउँदा नबुझ्ने समस्या देखिएको उनले जानकारी गराए ।
‘छुट्टाछुट्टै कोठामा भए एक शिक्षकले एउटा कक्षामा ४५ मिनेट पढाउन पाउँथे । अहिले २० मिनेट एउटा कक्षा र २० मिनेटसँगै बसेका अर्कोका कक्षाका विद्यार्थीलाई पढाउनुपर्छ,’ उनले भने, ‘एउटा कक्षाका विद्यार्थीलाई पढाउँदा अर्को कक्षाका विद्यार्थीले हल्ला गरेमा बुझ्दैनन् । हुरीले फालेको भवनमा विद्यार्थी राखौँ दैनिकजसो वर्षात भएकाले कोठा भिजेको छ । पर्खाल चर्किएकाले राख्न पनि डर नै छ । खुला चौरमा राख्न नसकिने अवस्था छ । नराखौँ एउटै कोठामा राखेर पढाउन गाह्रो छ ।’
हुरीले विद्यालयको दुई कोठे भवनको छाना फाल्दा भवनको पर्खाल चर्किएको र सबैगरी ५ लाख बराबरको क्षति भएपछि नगरपालिकामा माग गर्दा बजेट छुट्याएको भन्ने सुन्नमा त आएको छ तर विभिन्न कारणले गर्दा पालिका जान नसक्दा भवनको मर्मतको काम अगाडि बढाउन नसकिएको प्रधानाध्यापक रानाले जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप बुढाले विद्यालयसँग बजेट नभएकाले तत्काल हुरीले फालेको भवनको छानो मर्मत गर्न नसकिएको र पालिकामा माग गरेपछि बजेट विनियोजन गरेको सुन्नमा आएपनि काम हुन नसकेको बताए । दुई कोठे भवनको छानो हुरीले फाल्दा दुई कक्षाका बालबालिकालाई एउटै कोठामा राखेर पढाउन शिक्षक, शिक्षिकालाई पढाउन कठिनाइ भएको उनले जानकारी गराए । विद्यालयमा तीन शिक्षक दरबन्दी र एक शिशु गरी चार शिक्षक भएपनि एउटा कक्षाका विद्यार्थीलाई पढाउँदा सँगै बसेका अर्का कक्षाका विद्यार्थी ट्वाल्ल परेर बस्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
