कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारी आन्दोलनमा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेशसभा अगाडि प्रदर्शन

जेष्ठ ९, २०८२

ज्योति कटुवाल

All 79 local level employees of Karnali in protest

सुर्खेत — स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालको आह्वानमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारी अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश सभाअगाडि बसेर उनीहरूले आन्दोलन गरेका छन् ।

प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ मा संशोधन नगरेको र आफूहरूमाथि विभेदपूर्ण नीति अपनाएको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीको भनाइ छ । ‘कर्मचारी थर्काउने, चौथोबाटै फर्काउने’, ‘समावेशी ऐन समतामूलक सेवा’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु सडकमा उत्रिएका हुन् ।

आन्दोलन संयोजक ओमप्रकाश नेपालीले २०७६ यता नियुक्त भएका चौथो, पाँचौं र छैटौं तहका कर्मचारीको सेवासुविधा तथा पदोन्नतिमा विभेद भइरहेको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन गर्ने बताए । सेवा प्रवेशमा उमेर हद नलगाउने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राख्नुपर्ने मागसहित ७९ वटै स्थानीय तहका झन्डै ३ सय कर्मचारी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आन्दोलन गरिरहेका छन् ।

All 79 local level employees of Karnali in protest

‘विधेयक दर्ता त भयो, तर संशोधन अघि बढेन, अहिले पुनः आन्दोलनमा फर्किनुपरेको छ,' नेपालीले भने, ‘गत पुस २९ गतेदेखि नै दबाबमूलक कार्यक्रममार्फत ध्यानाकर्षण गराएका छौं तर सुनुवाइ भएन ।’

All 79 local level employees of Karnali in protest

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully