जुम्ला — जिल्लाको पातारासी गाउँपालिका–४ का एक साताअघि यार्सा संकलनका लागि पाटन गइसकेका छन् । विगत एक दशकदेखि उनको मुख्य आम्दानीको स्रोत नै यार्सा हो । यसैबाट आउने रकमले वर्षभरीको घरखर्च जोहो हुन्छ उनको ।
दुई महिनाको अवधिमा उनले कहिले ५० हजार त कहिले एक लाख बढी कमाउँछन् । उनले भने, ‘यार्सा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैं धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रासले पिरोलिरहन्छ ।’ यार्सा भेटिए त भोक, प्यास, थकानको अनुभव नै नहुने उनी बताउँछन् ।
सोही गाउँका जीवन महतारा पनि यार्सा टिप्न डोल्पा पुगेका छन् । जेठ ५ गतेदेखि वन क्षेत्र खुला गरेकाले उनी गाउँकै साथीहरुको समूह बनाएर पाटन उक्लिएका हुन् ।
करिब दुई महिनाको जोखिमपूर्ण खटाइपछि धेरै संख्यामा यार्सा भेटिएमा भने वर्षभरी घरखर्च, बालबच्चा पढाउनका लागि भारत जानुपर्दैन । उनले भने, ‘छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत नै यार्सा हो । थोरै समयको दु:खले वर्षभरीको गर्जो त टर्छ । कहिलेकाहिँ ज्याने जाने जोखिम पनि हुन्छ ।’
वर्षमा दुई बाली मात्र हुने जुम्लामा खेतबाट उत्पादित अन्नले वर्षभरी पुग्दैन । घरमा जागिर नहुनेका लागि दुईवटा विकल्प मात्र रहन्छ । या त भारत या यार्सा टिप्न पाटन । त्यसैले जीवन विगत पाँच वर्षदेखि हरेक वर्ष जेठ असारमा यार्सा संकलनका लागि पाटन पुग्छन् ।
यस्तै सिर्जना ऐडी पनि पाँच वर्षदेखि यार्सा टिप्न गइरहेकी छिन् । ‘थोरै दु:ख सहन सक्यो भने राम्रो आम्दानी हुन्छ’ उनी भन्छिन्, ‘परिवारका दुई चार जना नै जाने हो अन्य कमाउनका लागि विकल्पहरु खोजिराख्न पर्दैन ।’
गोरबहादुर जीवन र सिर्जना प्रतिनिधिमात्रै हुन् । उनी जस्ता सयौं जुम्ली युवाहरु यार्सा टिप्न मुगु र डोल्पाका पाटनहरुमा पुगेका छन् । यो वर्ष मौसम खराब देखिएकोले त्रासैत्रासमा पाटन क्षेत्रमा युवाहरु गइरहेको स्थानीय बताउँछन् । यहाँका स्थानीयको मुख्य आम्दानी भनेको यार्सा नै हो । अहिले पातारासी १ देखि ७ सम्मका बस्तीहरुमा युवाहरु भेट्न मुस्किल पर्छ ।
‘जोखिम मोलेर पाटन जानु रहर होइन, घरको उत्पादनले १२ महिना खाना पुग्दैन,’ सिर्जनाले भनिन्, ‘घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न पाटन जानुको विकल्प छैन ।’ अहिले किशोरकिशोरी, युवायुवतीहरु पाटन गइसकेकोले विद्यालयको पठनपाठन पनि प्रभावित बनेको छ ।
पातारासी गाउँपालिका–२ मा रहेको सरस्वती माविका तल्फीका सहयोगी चुम्मा बोहोराका अनुसार माथिल्लो कक्षाका अधिकांश विद्यार्थी पाटन पुगिसकेका छन् । अहिले आधारभूत तहका विद्यार्थी मात्रै पढ्न आउँछन् । पाटनमा यार्सा टिप्न जुम्लाको सिंजा, कनकासुन्दरी, हिमा, तिला, तातोपानी र चन्दननाथ नगरपालिकाबाटसमेत गएका छन् ।
१२ वर्षदेखि ५० वर्षसम्मका सबै मानिसहरु पाटनमा जाने भएकोले गाउँहरु सुनसान छन् । गाउँमा केही बिरामी पर्दा अस्पतालसम्म पुर्याउने मान्छेकोसमेत कमी भएको स्थानीय बताउँछन् ।
