सल्यान — जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोलादेखि राम्री सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालय दाङले बुधबारदेखि राप्ती राजमार्ग एक साताका लागि दैनिक ६ घन्टा बन्द गरेको छ ।
नियमित रुपमा सञ्चालन हुँदै आएका गाडीका कारण निर्माणको काम प्रभावित भएपछि डिभिजन कार्यालय दाङ र जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर बुधबारदेखि राप्ती राजमार्ग एक साताका लागि बन्द गरेको हो ।
राप्ती राजमार्गको चोरखोलादेखि राम्रीसम्मको सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रेको काम लगातार गाडी सञ्चालनले प्रभावित हुँदा तोकेको समयमा सम्पन्न हुन नसक्ने अवस्था सृजना भएपछि बुधबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि दैनिक ६ घन्टा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहाहुर विष्टले बताए ।
निर्माण कम्पनीले काम गरिरहेको बेला लगातार गाडी चल्दा गरेको कामसमेत बिग्रने गरेको र काममा ढिलासुस्ती भएकै कारण निर्माण कम्पनीको आग्रहमा राप्ती राजमार्ग बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मका लागि बन्द गरिएको उनले जानकारी गराए । उनका अनुसार लगातार गाडी सञ्चालनले ४ किलोमिटर सडक खण्डमा प्रभावकारी काम हुन सकेको छैन ।
वर्षातको समयमा पहिरो जाने र सिमेन्ट फ्याक्ट्रीको चुनढुंगा बोक्ने टिपरका कारण निर्माण कम्पनीले काम गर्दै आए पनि सोचे अनुसार प्रगति नदेखिएपछि पछिल्लो समयमा कालोपत्रे गर्नका लागि ग्र्याबेल गरिसकेपछि आउजाउमा केही सहज भएको उनले जानकारी गराए ।
निर्माणको काम जतिसक्यो छिटो सम्पन्न गर्न यो भन्दा अघि पनि पटक पटक राप्ती राजमार्ग बन्द गरिएको उनको भनाइ छ । तोकेको समयमा काम हुन नसकेका कारण यात्रुले बाह्रै महिना विभिन्न किसिमका कष्ट उठाउँदै आएकाले आउँदा दिनमा सास्ती भोग्न नपरोस भनेर नै छिटो छरितो काम सम्पन्न गर्न सबैको सल्लाहमा दैनिक ६ घन्टा राप्ती राजमार्ग बन्द गरिएको सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् ।
साना तथा अत्यावश्यक सवारी साधन वैकल्पिक मार्ग पैयाखोरिया–सातावास–किमचौर–कपुरकोट सडक खण्ड प्रयोग गर्न र संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी पुनले आग्रह गरेकी छिन् । वैकल्पिक मार्गबाट साना गाडीहरु आउजाउ गर्दै आए पनि ठूला सवारी साधनमा सवार गर्ने यात्रु प्रभावित भएका उनको भनाइ छ ।
