सल्यान — बुधबार बिहान परेको असिना पानीले जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १, २, ५ का किसानले झन्डै एक हजार रोपनी जग्गामा व्यावसायिक रूपमा लगाएको तरकारीमा क्षति पुर्याएको छ । वर्षातसँगै परेको बाक्लो असिनाले किसानले लगाएको फल्न थालेको तरकारी बोट र रोप्नका लागि राखेको ब्याडमा क्षति पुर्याएको हो ।
असिनापानीले फल्न थालेको तरकारीमा क्षति पुर्याएपछि तरकारी बिक्री गरेर वार्षिक ८ देखि १० लाखसम्म कमाउँदै आएका वडा नं १ सारपानी, वडा नं २ गर्पा र वडा नं ५ सल्लामका २ सय ५० किसान प्रभावित भएका छन् । आयस्रोतको मुख्य माध्यमको रूपमा रहेको तरकारी बाली नष्ट भएपछि कसरी जीविकोपार्जन गर्ने भन्दै किसान चिन्तित भएका छन् ।
असिनापानीले किसानले लगाएको तरकारीमा क्षति पुगेपछि कपुरकोट गाउँपालिकाले स्थलगत अनुगमन गरेर क्षतिको विवरण संकलनको तयारी गरेको छ । वर्षातसँगै बाक्लै परेको असिनाले आफूले १० रोपनी जग्गामा लगाएको काउली नष्ट भएको कपुरकोट गाउँपालिका–५ सल्लामका प्रदीप बस्नेतले बताए । असिनाकै कारण पातहरू सबै सकिएपछि बारीमा काउलीका डाँठ मात्र रहेका र फलसमेत काम नलाग्ने भएका उनले जानकारी दिए । ‘काउली, बन्दा बिक्री गरेर वार्षिक १० लाखसम्म कमाउँदै आएको थिए । त्यसले घर खर्च चलाउन धेरै सहज भएको थियो । असिनाले बाली सबै सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ,’ उनले भने । असिनाले काउली नष्ट भएका उनले क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
असिनाले आफ्नो बारीमा फल्न थालेको टमाटर, भेडेखुर्सानी, सिमी, बोडी लगायतका सबै तरकारीमा क्षति पुर्याएको वडा नं. १ सारपानीका किसान उजरसिंह पुनले बताए । असिनाले गर्दा कुनै बोट ठाडो नरहेका, बीचैबाट भाँचिएका र फल, फूल सबै सखाप भएका उनले जानकारी गराए । ‘बिउ, बेर्ना, मल , मजदुर खर्च गरी तरकारी लगाउन एक लाखभन्दा बढी खर्च लागेको थियो । अहिले फल्ने बेलामा एउटा बोट गतिलो छैन,’ उनले भने, ‘तरकारीबाटै पाँच/छ जनाको परिवारको लालनपालन गरेर २/४ लाख बचत हुन्थ्यो सबै हरायो ।’
असिनाले लगाएका तरकारी सखाप बनाउँदा वडाका ८०/९० घर किसान पूर्णरूपमा प्रभावित भएका वडा नं १ का वडा अध्यक्ष बालाराम खड्काले बताए । असिनाले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए । तरकारीका बोट सखाप भएपछि वडाभित्र २५/३० लाख बढीको क्षति हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।
कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले असिनाले तीन वडाका झन्डै एक हजार रोपनी जग्गामा किसानले लगाएको तरकारीमा क्षति पुगेको बताए । फल्न थालेको बेमौसमी तरकारीमा क्षति पुर्याएपछि स्थलगत अध्ययन र क्षतिको विवरण संकलनको तयारी भइरहेको उनले बताए । कति रकम बराबरको क्षति भयो भन्ने कुरा स्थलगत अध्ययनबाट मात्र थाहा हुने उनको भनाइ छ ।
उनका अनुसार कपुरकोट गाउँपालिका बेमौसमी तरकारीको लागि देशभरि चिनिन्छ । पालिकाका ४ हजार बढी किसान बेमौसमी तरकारी खेतीमा लाग्दै आएका छन् र उनीहरूले वार्षिक ४० करोड बढीको तरकारी निकासी गर्दै आएका छन् । किसानको मुख्य आयस्रोतको माध्यम नै तरकारी हो । असिनाले तरकारीमा क्षति पुर्याएपछि किसान धेरै प्रभावित छन् । स्थलगत अध्ययनबाट पालिकाले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने उनको भनाइ छ ।
