डोल्पाबाट अख्तियारमा १ सय ५४ उजुरी

जेष्ठ ७, २०८२

रामचन्द्र न्यौपाने

154 complaints from Dolpa to authority

डोल्पा — डोल्पाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल १ सय ५४ वटा सय उजुरी दर्ता भएका छन् । गत वैशाख मसान्तसम्ममा परेका कुल उजुरीमध्ये ७२ वटा उजुरी फर्छ्यौट भइसकेका छन् भने ८२ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी धर्मराज बुढाका अनुसार ‘अख्तियारमा स्थानीय तहका भएका गरेका अनियमितका उजुरी धेरै पर्ने गरेका छन्,त्यसपछि सहरी विकास मन्त्रालयबाट परेका योजनाहरूको उजुरी पनि धेरै आएका छन् ।’ उनका अनुसार ‘डोल्पाका स्थानीय तहमध्ये सबैभन्दा धेरै उजुरी ठूलीभेरी नगरपालिकाबाट परेका छन् । कुल ५८ वटा उजुरी परेकोमा ३० वटा फर्छ्यौट भएपनि २८ उजुरी अझै टुंगिएका छैनन् ।’

त्यसपछि अक्तियारमा उजुरी धेरै पर्ने त्रिपुरा सुन्दरी नगरपालिका रहेको छ । कुल २८ उजुरीमध्ये ८ वटा फर्छ्यौट भएपनि अझै २० उजुरी टुंगिन बाँकी छन् ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाबाट २६ उजुरी अक्तियारमा परेकोमा १६ वटा फर्छ्यौट भएपनि अझै १० उजुरी टुंगिएका छैनन् ।

मुड्केचुलाकै छिमेकी पालिका जगदुल्ला गाउँपालिकाबाट अक्तियारमा २० उजुरी परेकोमा ११ वटा फर्छ्यौट भएपनि ९ वटा उजुरी अझै बाँकी छन् ।

काइके गाउँपालिकाबाट अक्तियारमा ८ वटा उजुरी दर्ता भएकोमा सबै उजुरी किनारा लाग्न सकेका छैनन् ।

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाबाट कुल ३ वटा उजुरी अक्तियारमा परेकोमा सबै किनारा लागिसकेको अक्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।

छार्काताङ्सोङ् गाउँपालिकाबाट कुल ७ वटा उजुरी परेकोमा २ वटा फर्छ्यौट भएपनि ५ वटा उजुरी अझै टुंगिन सकेका छैनन् । त्यसैगरी शे–फोक्सुण्डो गाउँपालिकाबाट कुल ४ वटा उजुरी परेकोमा २ वटा फर्छ्यौट भएपनि २ वटा अझै टुंगिन बाँकी रहेका छन् । चालु आवमा सहरी विकास मन्त्रालयबाट डोल्पा भित्रिएका योजनाहरू धमाधम अख्तियारमा उजुरी पर्न थालेका छन् । सहरी विकास मन्त्रालयबाट त्रिपुरा सुन्दरी नगरपालिकामा आएका नौ योजनाहरू सामूहिक रूपमा अख्तियारमा परेका छन् ।

धेरैजसो योजना कार्यकर्तामुखी र व्यक्तिगत भएकाले पनि अख्तियारमा उजुरी परेको सरोकारवाला बताउँछन् । त्यसैगरी चालु आवमा ठूलीभेरी नगरपालिकामा सहरी विकास मन्त्रालयबाट आएका चार वटा योजना अख्तियारमा परेका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully