हुम्ला र बाजुराका दुई गर्भवतीको हेलिकोप्टरबाट उद्धार

जेष्ठ ६, २०८२

ज्योति कटुवाल

Rescue of two pregnant women from Humla and Bajura by helicopter

सुर्खेत — हुम्ला र बाजुराका दुईजना गर्भवतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार हुम्लाको चंखेली गाउँपालिका-६ की १८ वर्षीया धनशिला बुढा र हिमाली गाउँपालिका बाजुराकी १७ वर्षीया जुनिता थापालाई हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

उद्धार गरिएका दुवै महिलालाई कर्णाली प्रदेश अस्पतालमा लगिएको छ । हुम्ला जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहोराले आमा र शिशु दुवैमा जटिल समस्या देखापरेपछि प्रदेश अस्पताल रिफर गरेको बताइन् । आमाको ब्रेनमा इन्फेक्सन र गर्भमा रहेको शिुशुको मुटुको धड्कन कम चलेको छ ।

‘चंखेलीबाट तीन दिन लगाएर जिल्ला अस्पताल पुग्नुभएको थियो,' उनले भनिन्, ‘पेटमा बच्चा बसेको ८ महिना मात्र भएको छ तर, आमामा समस्या धेरै छन् । प्रदेश अस्पतालमा उपकरण र सुविधासम्पन्न भएकाले आमा र शिशुको ज्यान जोगाउन सकिन्छ भनेर पठाएका हौं ।’

यस्तै, बाजुराको हिमाली गाउँपालिकाकी १७ वर्षीया जुनिता थापा कोल्टीबाट कक्षा १२ को परीक्षा दिएर घर जाने क्रममा गाडी दुर्घटनामा परी घाइते अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल ल्याइएको नेपाली सेनाका पाइलट महासेनानी दीपध्वज खड्काले बताए । जुनिताको हात भाँचिएको छ भने टाउकामा धेरै चोट लागेको छ । उनी ७ महिनाकी गर्भवती हुन् ।

दुवैलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअर्न्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रममामार्फत उद्धार गरिएको हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully