जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले रासायनिक विषादी प्रयोगमा प्रतिबन्ध लगाएको छ । तरकारी तथा अन्नबालीमा रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा असर पारेको भन्दै विषादी प्रयोगमा प्रतिबन्ध नै लगाइएको हो ।
सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले रासायनिक विषादी प्रयोग गर्ने किसानलाई उपलब्ध गराइने सेवा सुविधासमेत कटौती गर्ने निर्णय गरेको छ । बैठकले रासायनिक विषादी प्रयोग गर्ने किसानको जानकारी गोप्य रुपमा दिने व्यक्तिलाई पुरस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिए ।
उनले भने, ‘विषादी मिसिएको खान्कीले दिनप्रतिदिन मानव स्वास्थ्यमा असर पारिरहेको छ । यही अवस्थामा नरोके ठूलो समस्या आउने देखिएको छ ।’ किसानले धानमा आउने झार मार्न ब्यापक रुपमा ब्युटाकोलर नामक विषादीको प्रयोग गरिराखेका छन् ।
'पहिले लुकीछिपी प्रयोग गर्ने गरेकाले खासै थाहा भएन,' प्रमुख प्रशासकीय अधिकृत कठायतले भने, ‘अब नियमित रुपमा निगरानी गर्नुका साथै जनप्रतिनिधि तथा कर्मचारी परिचालन गर्ने तयारी छ ।’
बैठकले अवैध रुपमा विषादी भित्र्याउने एग्रोभेटको निगरानी तथा निरन्तर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्र पठाउने समेत निर्णय गरेको छ । जुम्लालाई २०६४ सालमा अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।
तातोपानी गाउँपालिकामा श्रीनगर, जिउलो, लाम्रा, धौलापानी, गौतमबाडा, तातोपानी, लाछु जिउलो र राँका जिउलोमा विषादीको प्रयोग भइरहेको गुनासो आउने गरेको छ ।
