सर्वसाधारणको सहजताका लागि चन्दननाथमा टोकन

जेष्ठ ५, २०८२

डीबी बुढा

Token at Chandannath for the convenience of the general public

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिकाले सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन टोकन प्रणाली सुरु गरेको छ। नगरपालिकाले यही वैशाख महिनादेखि टोकन प्रर्णालीमार्फत् सेवा दिन थालेको हो।

टोकन प्रणालीमार्फत् सेवा पाउन सजह भएको भन्दै सेवाग्राही समेत खुसी छन्। योजना सम्झौता गर्ने, रकम भुक्तानी लिने, प्रस्तावना पेश गर्नेदेखि सबै नगरका कामहरू लिन टोकन लिनुपर्ने भएपछि सेवा प्रवाहमा समानता आएको छ।

पहिले टोकन नहुँदा झ्याल ढोकामा सेवाग्राहीहरू घण्टौँ लाइनमा बस्नुपर्ने, हल्ला र विवादले पालो आउनै कठिन हुने र पहुँचवालाहरूको एकै दिन र पहुँच नहुनेहरूले हप्तौँ कुर्नुपर्ने बाध्यता थियो । तर टोकन प्रणाली सुरु भए पछि पहुँचवाला र पहुँचविहीनको खाडल पुरिएको स्थानीय कालीबहादुर रोकायाले बताए । 

उनले भने, ‘अहिले टोकन प्रर्णालीमा जाने बित्तिकै हरेक कोठामा गएर फाइल पुर्‍याउनु परिरहेको छैन ।’ दर्ता भएको फाइल जानुपर्ने फाँटसम्म पुर्‍याएर कर्मचारीले आफैँ ल्याइदिने गरेका छन्। 

पालोको लागि टोकन लिएर आरामले कुर्न पाइने हुँदा सेवाग्राही र सेवा प्रदायक दुबैलाई सहज भएको उनको बुझाइ छ । 'पहिले लामो लाइनमा होहल्ला र सेवाग्राहीको भीडभाडले काम निकै लम्बिने गरेको थियो । अहिले फाइल पेस गरेको एक घण्टामै काम हुने/नहुने टुंगो लागिहाल्छ,' उनले भने । 

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण बाहिर गएर होहल्ला हुने गरेको जस्ता क्रियाकलापहरू हटेको बताए । उनले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन् । सेवाग्राहीले पनि दुःख पाइरहेका छैनन् ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully