जुम्ला — गाउँ आसपासमा लेदोसहितको पहिरो जान थालेपछि पाँच दिनदेखि हुम्ला नाम्खा गाउँपालिका–६ तिलगाउँका स्थानीय विस्थापित बनेका छन् । केही विद्यालयमा आश्रय लिएर बसिरहेका छन् भने केही चौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । अहिले पनि लेदो झरिरहेकोले उनीहरू गाउँ फर्कन सकेका छैनन् ।
स्थानीयले तत्काल लेदोसहितको पहिरो कताबाट कसरी आएको हो, फेरि आउँछ–आउँदैन भनेर ढुक्क हुन नसकेपछि गाउँ नफर्किने अडान राखेका छन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पहिरोको विस्तृत अध्ययन नहुँदासम्म नागरिकलाई गाउँ फर्काउन नसकिने बताए । उनले भने, ‘प्रारम्भिक अध्ययन अनुसार हिमताल पुगेर लेदोसहितको पहिरो खसेको भन्ने जानकारीमा आएको छ तर खानी तथा भूगर्भविद्को टोली आएर अध्ययन नगर्दासम्म भन्न सकिने अवस्था छैन ।’
बाढी गएको बारेमा गृह मन्त्रालय, विपद् व्यवस्थापन शाखा, खानी तथा भूगर्भ विभागसँग निरन्तर समन्वय भइरहेको बताए । ‘खानी तथा भूगर्भविद्ले ईसिमोडलाई अध्ययन गर्न भनिसकेको सुन्नमा आएको छ तर आधिकारिक खबर आइपुगेको छैन,’ उनले भने ।
गाउँ नै जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा त्रिपालमा राखिएको छ । २१ जना महिला ९ जना पुरुष र २ जना बालक छन् । गाउँमा ५० घर रहेकोमा १८ घरपरिवार मात्रै बसोबास गरिरहेका छन् ।
पहिरोले मानवीय क्षति त भएन तर गाउँमा जोखिम देखिएकोले समस्या भएको छ । सदरमुकाम सिमिकोट देखि ११ घन्टाको पैदल दुरीमा पर्छ । सहजैरूपमा आउजाउ गर्न कठिन छ ।
'के कारणले पहिरो आयो ? फेरि पनि पहिरो आएर गाउँ नै बगाउने हो कि भन्ने त्रास कायमै छ,' प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘केन्द्रबाट विज्ञ टोली आएर अब केही हुँदैन । सुरक्षितसँग बस्न सक्नु हुन्छ भन्ने स्थिति नआउँदासम्म घर फर्काउन सकिने अवस्था छैन ।'
अहिले त घरहरु सुरक्षित छैनन् भन्ने नै छ । हिमतालसम्म पुगेका स्थानीयले ताल बनेर भरिएको सबै पानी झरिसकेको जनाएका छन् । तिलगाउँ ३ हजार ८ सय मिटर उचाइमा छ । पहिरो आएको भनिएको स्थान ५ हजार ३ सय मिटर उचाइमा छ । धेरै माथिबाट पहिरो आएकोले जोखिम पनि धेरै छ ।
पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन र कुलोमा सामान्य क्षति पुगेको स्थानीयले बताएका छन् । वडाध्यक्ष तामाङले पहिरोले ४ सय रोपनीमा सिँचाइ गर्ने कुलो र खानेपानीसमेत बगाएको बताए । तिल्चुङ खोलामा रहेका पाँच वटा काठे पुल बगाएको छ ।
वडाध्यक्ष पाल्जोर लामाले तत्काल पहिरो पिडितको उद्धार गर्न माग गरेका छन् । उनले पहिरोको अध्ययन गरेर ढुक्कसँग गाउँमै बस्ने अवस्था सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।
