प्रतिपक्षी अनुपस्थित भएपछि कर्णाली प्रदेश सभा बैठक जेठ १८ सम्म स्थगित

जेष्ठ ५, २०८२

तृप्ति शाही

After the absence of the opposition, the meeting of the Karnali State Assembly was adjourned till May 18

वीरेन्द्रनगर — प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू अनुपस्थित भएपछि कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । सोमबारको बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सोमबार बस्ने प्रदेश सभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव र महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची तयार गरेको थियो । तर बैठकमा प्रतिपक्ष दलका कोही पनि प्रदेश सभा सदस्य उपस्थित नभएपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

सभामुख नन्दा गुरुङले प्रमुख प्रतिपक्ष दल बैठकमा उपस्थित नहुने भन्ने विषयमा जानकारी नपाएको बताइन् । उनले नेकपा समाजवादीका प्रदेश सभा सदस्य कल्याणी खड्का पार्टीको कार्यक्रमका सिलसिलामा काठमाडौं गएको र राप्रपाका प्रदेश सभा सदस्य सन्तोषी शाही बिरामी भएकाले उपस्थित हुन नसक्ने जानकारीबाहेक अरु थाहा नभएको जानकारी दिइन् ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै आउनुभएको र पछि नआउने भन्नेबारे जानकारी नभएको उनले बताइन् ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जीसीले 'आफूहरू पार्टीको अभियानमा जानुपरेको र बिजनेस नभएकाले बैठक दुई-चार दिन पछि राखौं भन्दा सत्तापक्षले नमानेकाले अनुपस्थित भएको' बताए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully