सुरु भयो यार्सा संकलन सिजन, मुगुका पाटनमा जेठ १३ देखि प्रवेश खुला

जेष्ठ ४, २०८२

रासस

Yarsa collection season has started, entry is open from 13th May in Muguka Patan

काठमाडौँ — मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि याम सुरु भएको छ ।

यार्सा संकलनको समय सुरु भएसँगै गाउँपालिकाकाले जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जनभन्दा बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण आउने गर्छन् ।

जिल्लावासीका लागि प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि दुई हजार पाँच सय वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । वन प्रवेशपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न गाउँपालिकाकाले आग्रह गरेको छ । 

यार्सा सङ्कलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् ।

सुरक्षा चुनौती
गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा संकलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्नेहरू वन प्रवेश गरिसकेको पाइएको छ  । सुुरक्षा चुुनौतीसँगै चोरी गर्ने मनसायले सयौं जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा संकलक रातारात पाटन प्रवेश गरेका हुन् ।

अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लङ्घन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा संकलनमार्फत गाउँपालिकाले ७१ लाख राजस्व संकलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी ८० लाखसम्म राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

यार्सा संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कम हुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।

रासस

Link copied successfully