जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिका-२ को झुलेनी पाटनमा बथानमै चट्याङ पर्दा २२ भेडा मरेका छन् । गुठीचौर-२ का वीरेन्द्र बोहराका अनुसार शनिबार बेलुकीपख परेको चट्याङले हिरबहादुर ऐडीका १६ वटा र धनकृष्ण रोकायाका ६ वटा भेडा मरेका हुन् ।
यो सिजनमा घर नजिकै चरन क्षेत्र नहुने भएकोले भेडा पालनका लागि पाटनतिर लैजाने गर्छन् । वर्षा भइरहेको समयमा ओत लागेर बसेका भेडाको बथानमै चट्याङ परेको थियो ।
हिरबहादुरका ५० वटा र धनकृष्णका ३० भेडाबाख्रा छन् । गुठीचौर-२ का वडासदस्य धनबहादुर बोहराले पाटनमा चट्याङले निकै ठूलो क्षति पुगेको छ । उनका अनुसार भेडा घर ल्याउँदै थिए । उनले भने, ‘पाटन चराएर भेडा घर ल्याइँदै थिएँ । पानी पर्यो । रुखमुनी ओत राखेर बसालिराखेको अवस्थामा चट्याङ पर्यो । किसानको खुसी खोसेर लियो ।’
हरेकवर्ष भेडा बेचेर घर खर्च चलाउँदै आएका हिराबहादुर चट्याङले भेडा मारेपछि निकै चिन्तत छन् । उनले भने, ‘भेडाको चरनका लागि पाटनहरु पनि सुरक्षित छैनन् । कसरी भेडा पालेर जीविकोपार्जन गर्ने होला ।’
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द बुढ्थापाले चट्याङले भेडा मारेको पुष्टि गरे । उनले भने, ‘चट्याङले भेडा मारेको तथ्यांक आइपुगेको छ । ’
किसानहरुले राहतको व्यवस्थापन गरेर विपदमा बेहोरेको क्षतिमा मलहम लगाइदिन माग गरेका छन् ।
गुठीचौर-२ स्थित गुठिगाउँका १७५ घरमा १ सयभन्दा बढी परिवारले भेडाबाख्रा पालन गरेका छन् । सो गाउँमा ३ हजार ५ सयभन्दा धेरै भेडाबाख्रा पालिएको छ । पाटन र खर्क व्यवस्थापन नहुँदा बर्सेनि सयौं भेडाबाख्रा मरेका छन् ।
गुठीचौर-२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारले किसानलाई राहत दिने बताए । वडामा आर्थिक नभए पनि पालिकाको विपद् शाखामा समन्वय गरेर किसानको दुःखमा सहयोग पुर्याउने उनको भनाइ छ ।
